Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

माङसेबुङ खानेपानी आयोजना अन्तिम चरणमा

उद्‌घोष संवाददाता
४ भदौ २०८१, मङ्गलवार

Advertisement

इलाम, ४ भदौ । इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिए । 

नेपाल सरकारको १३ करोड आठ लाख तीन हजार सात सय आठ रुपैयाँ लागतमा आयोजना निर्माण थालिएको हो । माङसेबुङका दुईवटा वडावासीलाई पर्याप्त खानेपानी वितरण गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अहिलेसम्म ‘कलेक्सन टेम्बर’, एक सय घनमिटर क्षमताको एउटा ‘रिजर्भ ट्याङ्की’, ५० घनमिटर क्षमताको दुई वटा ‘रिजर्भ ट्याङ्की’, १० घनमिटर क्षमताको चार वटा ‘रिजर्भ ट्याङ्की’ र बिजुली भवन निर्माण सम्पन्न भएका छन् ।

 प्रत्येक ‘रिजर्भ ट्याङ्की’ सम्मको तीन किलोमिटर तीन सय मिटर एचडिपिइ पाइप (पोलिथिन पाइप) विस्तार गरिएको छ ।  प्रत्येक ‘रिजर्भ ट्याङ्की’बाट चार सय ७५ घरधुरीमा २२ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान भइसकेको छ । आयोजनाको कार्यालय भवनसहित समुदायका लागि दुईवटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । 

अब ‘रिजर्भ ट्याङ्की’बाट पाँच सय ९१ घरपरिवारका लागि नौ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान गर्न बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । “बाँकी पाइपलाइन विस्तार र धारा जडानको काम धमाधम भइरहेको छ,” उनले भने, “अब बढीमा दुई महिनाभित्र आयोजना सम्पन्न भई घरघरमा खानेपानी पुग्छ ।” 

आयोजना अन्तर्गत तीन किलोमिटर तल रहेको रतुवा खोलाबाट विद्युतीय मोटरले तानेको पानी ‘रिजर्भ ट्याङ्की’मा भण्डारण गरी घरघरमा वितरण गरिनेछ । विद्युतीय माध्यमबाट चल्ने आयोजनामा पानी खपत गरेबापत मिटरमा उठेको महशुल उपभोक्ताले तिर्नुपर्नेछ । 

आयोजनाले लारुम्बासहित वडा नं ५ का सबै क्षेत्र र वडा नं ३ का तल्लो भाग लामिटार र आसपासका क्षेत्र समेट्नेछ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने त्यहाँका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । घण्टौँ लगाएर पानी बोकेर खानुपर्ने स्थानीय बासिन्दाको समस्या आयोजनाले अन्त्य गर्ने ५ नं वडा अध्यक्ष नरेन्द्रकुमार राईले बताए । 

आयोजना निर्माणका लागि विसं २०७८ असार २३ गते ठेकेदार कम्पनी ‘स्वामीनारायण निर्माण सेवा’सँग बहुवर्षे ठेक्का सम्झौता भएको थियो । आयोजनाबाट दुई वडाका एक हजार ६१ घरपरिवारका छ हजार तीन सय ९८ उपभोक्ता लाभान्वित हुने भएका छन् । माङसेबुङ गाउँपालिकाको वडा नं २ र ६ मा यसअघि लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ ।   रासस
 

View : 484

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved