Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

यू–२० साफ च्याम्पियनसिप : बंगलादेश बन्यो च्याम्पियन

उद्‌घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

विराटनगर । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । फाइनल खेलमा नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको हो । जितसँगै बंगलादेशले घरेलु टोली नेपाल विरुद्धको रोमाञ्चक खेलबाट पहिलो च्याम्पियन साबित गर्यो ।
नेपालले बंगलादेशलाई दबाबै राखेर खेलेपनि गोल गर्ने महत्वपूर्ण अवसरहरूलाई गुमाउँदा अभागी बन्नु पर्यो ।

बंगलादेशका लागि पहिलो हाफको इजुरी टाइममा डि–बक्स नजिकैबाट हानेको फ्रिकिकमा मिराजुल इस्लामले पहिलो गोल गरे । दोस्रो हाफको ५५ औं मिनेटमा पनि मिराजुलले दोस्रो गोल गरे ।

७१ औं मिनेटमा डिबक्स एसियाबाट मिराजुलले दिएको पासलाई रवि हुसेनले नेपालविरुद्ध तेस्रो गोलमा परिणत गरे । 

नेपालका लागि ८१ औं मिनेटमा गरेर समिर तामाङले गोल फर्काएर समर्थकहरूलाई केही आशा जगाए ९० मिनेटको खेल सकिएर थपिएको १० मिनेटलाई आफ्नो पक्षमा पार्न नेपाली खेलाडीले प्रयास गरेपनि चौथो गोल खानुपर्‍यो ।

९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै ४–१ को नतिजासहित च्याम्पियनसिप उचालेको हो । साविक विजेता भारतलाई सेमिफाइनलमा स्तब्ध पारेको बंगलादेश भने पहिलो पटक च्याम्पियन बनेको छ । 

पराजयसँगै नेपालको तेस्रो पटक च्याम्पियनसिप उचाल्ने सपना पनि समाप्त भयो । 

छैटौँ संस्करणको उक्त प्रतियोगिताको लिग चरणका खेलमा भने नेपालले बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी सेमिफाइनलमा नेपालले भूटानलाई तथा बङ्गलादेशले भारतलाई पराजित गर्दै साफ यू–२० च्याम्पियनशिपको फाइनलमा स्थान बनाएका हुन् ।

यही भदौ २ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसँगै बङ्गलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भूटानले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने तालिका थियो तर वर्षाका कारण खेलमैदान हिलाम्य हुँदा एन्फाले प्रतियोगिताको सम्पूर्ण खेल सातदोबाटोमा खेलाइएको हो ।

विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुल परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्बाङलगायतले पुरस्कार वितरण गरेका थिए ।

View : 152

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved