विराटनगर । देशभरका ११ वटा उपमहानगरपालिका मध्ये इटहरी उपमहानगरपालिकाको बेरुजु सवैभन्दा उच्च देखिएको छ ।
महालेखा परीक्षण प्रतिवेदनले आर्थिक वर्ष २०८०–८१ मा १६ करोड २१ लाख १३ हजार रुपैयाँ बेरुजु थपिएर १ अर्ब २६ करोड ९१ लाख ६७ हजार ५७८ रुपैयाँ पुगेको जनाइएको छ । आव २०८०–८१ मा बेरुजु फछ्र्योट शून्य देखिएको छ ।
जसमध्ये असुल गर्नुपर्ने ५४ लाख १३ हजार ८४९ रुपैयाँ र अनियमित बेरुजु ५४ लाख ९२ हजार ४९० रूपैयाँ रहेको छ । त्यस्तै प्रमाण पेस गर्नुपर्ने बेरुजु ६ करोड ७९ लाख १३ लाख ६६५ रूपैयाँ छ ।
इटहरीमा आव २०७९–८० सम्म १ अर्ब १० करोड ७० लाख ५५ हजार रूपैयाँ बेरुजु कायम रहेको थियो ।
इटहरीमा जनप्रतिनिधि राजनीतिक रुपमा विभाजित हुँदा उनीहरूबीच तीब्र विवाद हुँदै आएको छ । सोही कारण आर्थिक अनुशासन समेत कमजोर बन्दै गएको नगरबासीको बुझाइ छ ।
इटहरीमा कोशी प्रदेशको एक मात्र महानगर विराटनगरको भन्दा चार गुणा धेरै बेरुजु कायम भएको छ । विराटनगरमा बेरुजु रकम ४ करोड ६८ लाख ४० हजार छ । यो रकम इटहरीको भन्दा ३१ करोड ५२ लाख ८८ हजार रुपैयाँ कम हो ।
विराटनगरले गत आवमा मात्रै २० करोड बेरुजु घटाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाका अनुसार इटहरीमा भने आर्थिक वर्ष २०७९–८० मा मात्रै २१ करोड ८७ लाख ४ हजार बेरुजु थपिएको थियो । उक्त आवमा ८८ करोड ८३ लाख ५२ हजार रुपैयाँ बेरुजु रहेकोमा बेरुजु फछ्र्योट हुनुको साटो थपिंदै जाँदा अहिले १ अर्ब १० करोड ७० लाख ५५ हजार पुगेको हो ।
कोशी प्रदेशमा इटहरी र धरान गरी दुईवटा उपमहानगरपालिका छन् । जस अनुसार धरानमा पनि बेरुजु घटेको छैन ।
आर्थिक वर्ष २०८०–८१ मा १६ करोड रुपैयाँ रहेको धरानको बेरुजु बढ्दै जाँदा अहिले ४१ करोड ९६ लाख ७४ हजार पुगेको महालेखाले जनाएको छ ।
महालेखाका अनुसार आव २०८०–८१ मा बुटवलमा सबैभन्दा कम बेरुजु देखिएको हो । बुटवलको बेरुजु ३ लाख ३८ हजार रूपैयाँमात्रै रहेको जनाइएको छ ।
इटहरीपछि मधेश प्रदेशको राजधानी जनकपुरस्थित जनकपुरधाम उपमहानगरपालिकाको बेरुजु पनि १ अर्बभन्दा नाघेको छ ।
धरान उपमहानगरपालिकामा आर्थिक वर्ष २०८०–८१ मा ८ करोड ७६ लाख ९७ हजार रूपैयाँ बेरुजु थपिएको छ । योसँगै धरानको कुल बेरुजु ४१ करोड ९६ लाख ७३ हजार ५९७ रूपैयाँ पुगेको छ ।
धरानले १ करोड ६७ लाख २६ हजार रूपैयाँ फछ्र्योट पनि गरेको महालेखाले जनाएको छ ।
महालेखाका अनुसार धरानमा ८५ लाख ३८ हजार रूपैयाँ असुल उपर गर्नुपर्ने बेरुजु छ । त्यस्तै ३ करोड १४ लाख ९९ को कागजात पेस गर्नुपर्ने र २ करोड ३२ लाख ५१ हजार रूपैयाँ नियमित गर्नुपर्ने बेरुजु रहेको जनाइएको छ ।
View : 370
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved