Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा नेपालीलाई फेरी दिउँसै खेलाइदैछ क्यासिनोमा जुवा

उद्‌घोष संवाददाता
२९ माघ २०८२, बिहिवार

विराटनगर । कारबाहीमा परेपछि जुवा खेल्न झापाका क्यासिनो धाउन थालेका जुवाडेहरू पछिल्लो समय फेरि सहज अवस्था देखिएपछि विराटनगरमै फर्किएर दिउँसै जुवा खेल्न थालेका छन् ।

यसअघि रातिको समयमा मात्र सञ्चालन हुने विराटनगरका क्यासिनोहरू हिजोआज दिउँसो नेपाली खेलाडीलाई लक्षित गर्दै सञ्चालन हुन थालेका छन् । 

चुनावी तयारीमा सुरक्षा निकाय केन्द्रित रहेका बेला अन्य क्षेत्रमा जस्तै क्यासिनो क्षेत्रमा पनि केही अराजकता बढेको देखिएको छ । 

‘राति प्रहरीले छापा मार्न सक्छ, दिउँसो खासै मतलब गर्दैनन्, त्यसैले दिउँसो २ बजेदेखि नै नेपाली क्यासिनो जान थाल्छन्,’ एक खेलाडीले बताए ।

विराटनगरमा गैरकानुनी रूपमा जुवा खेलाउने क्यासिनोमा छापा परेपछि जुवाडेहरूको सुरक्षित स्थान झापा बनेको थियो । 

‘क्यासिनोका सबै टेबुलमा नेपाली खेलाडी भेटिन थालेका छन्’ एक खेलाडीले भने, ‘क्यासिनोका टेबुलहरु अहिले पुराना नेपाली खेलाडीले नै ठेक्कामा पनि चलाउन थालेका छन्, क्यासिनो जान बानी परेकालाई यो आदत छुट्दैन ।’

गत पुसमा विराटनगरको बिग होटलमा सञ्चालित च्याम्पियन जोन र रत्ना होटलमा सञ्चालित गोल्डेन कोइन क्यासिनोमा प्रहरीले छापा मारेर क्यासिनो सञ्चालक, कर्मचारी र खेलाडी गरी १७ जनालाई पक्राउ गरेपछि विराटनगरका खेलाडी झापातर्फ लागेका थिए । 

झापाको बिर्तामोडमा सञ्चालित किङ्गसबेरी होटल, धुलाबारीको मेची क्राउन, कांकडभिट्टाको ढाका होटल र रियाज होटलमा क्यासिनो सञ्चालनमा छन् ।

च्याम्पियन जोन क्यासिनोका संचालकद्वय रामकृष्ण गौतम र हरि भट्ट, गोल्डेन कोइन क्यासिनोका जनरल म्यानेजर लोकेन्द्रबहादुर बस्नेत तथा क्यासिनो खेलाडी एवम् पुसेट कलेज विराटनगरका निर्देशक तेजराज गिरीलगायत विराटनगरको क्यासिनोबाट पक्राउ परेर जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । 

नेपाली र भारतीयलाई जुवा खेलाएर मासिक ५ करोड रुपैयाँसम्म यहाँका क्यासिनोले खर्च कटाएर आम्दानी गर्दै आएको स्रोतले बताएको छ ।

पक्राउ परेर धरौटीमा छुटेकाहरू हाल पनि जिल्ला प्रशासन कार्यालय मोरङमा तारिख धाइरहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालले बताए । 

क्यासिनो सञ्चालक राजनीतिक दलका नेताहरुको संरक्षणमा छन् । कानुनले नै नेपालीलाई क्यासिनोमा जुवा खेलाउन बर्जित गरे पनि दलका नेताहरूको संरक्षणमा रहेका क्यासिनोले कानुन पालना गर्दैनन् । 

भारतीय ग्राहकले मात्रै क्यासिनोका खाल नभरिने भएकाले उनीहरू नेपालीलाई आकर्षित गर्न बाध्य छन् । 

अझ पैसा हार्ने नेपालीलाई हारेको रकमको १० प्रतिशत फिर्ता गरेर पुनः आउने प्रलोभन दिने गरेका छन् । 

प्रहरीका अनुसार गद भदौमा देशभरका कारागारहरूबाट भागेका कैदीबन्दीको खोजीका लागि होटल, रेष्टुरेण्टमा निगरानी भइरहेको छ । 

गैरकानुनी कार्य भइरहेको सूचना पाए प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले सार्वजनिक सुचना पनि जारी गर्दै आएको छ । मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरी योजना बनाएर क्यासिनोमा छापा मारिने बताउँछन् । 

‘निगरानी भइरहेको छ, छड्के जेकजाँच हुँदैछ पक्का सूचना आए छापा मारेर कारवाही हुन्छ’ उनले भने ।

View : 249

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved