Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

घुम्दाघुम्दै गोसाइँकुण्डमा अस्ताए दाजुभाइ

मनोज काठमाडौंमै बसेर कम्प्युटर सम्बन्धि काम गर्थे भने  सुजन विराटनगरस्थित एनआईसी एसिया लघुवित्तमा कार्यरत थिए ।  घुम्न रूचि राख्ने यी दुवैले फोनमा सल्लाह गरेर यसपटक गोसाइँकुण्ड जाने निधो गरेका थिए ।
उद्‌घोष संवाददाता
१३ साउन २०८२, मङ्गलवार

विराटनगर । मोरङ बेलबारीका मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल घुमिरहन मन पराउँथे । फुपूचेला मामाचेला उनीहरू छोटो फुर्सदमा पनि नयाँ ठाउँ घुम्न र पुग्न हतारिन्थे । ट्रेकिङ (पदयात्रा) मा रमाइरहने बानी भएका यी दाजुभाइ यसपटक घुम्दाघुम्दै गोसाइँकुण्डमा अस्ताएका छन् ।

आइतबार दिउँसो ३ देखि साढे तीन बजेभित्रको यो घटनाले मोरङका दुई युवालाई कहिल्यै नफर्किने यात्रामा पुर्‍याएको छ । 

उनीहरू दुवै जना रसुवाको गोसाइँकुण्डमा आइतबार बेपत्ता बनेका थिए । समयमै उद्धार हुन सकेन । अन्ततः सोमबार बिहान उनीहरू मृत अवस्थामा फेला परेका थिए । 

मोरङ बेलबारी–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर–३ ढाट पूर्वटोलका २९ वर्षीय सुजन ढकाल शनिबार गोसाइँकुण्ड पुगेका थिए । 

उनीहरूको साथमा उनीहरूकै परिवारकी एक बहिनीसहित कूल १३ जना थिए । 

मनोज काठमाडौंमै बसेर कम्प्युटर सम्बन्धि काम गर्थे भने  सुजन विराटनगरस्थित एनआईसी एसिया लघुवित्तमा कार्यरत थिए । 

घुम्न रूचि राख्ने यी दुवैले फोनमा सल्लाह गरेर यसपटक गोसाइँकुण्ड जाने निधो गरेका थिए । 

रसुवामा रहेको गोसाइँकुण्ड आन्तरिक तथा बाह्य पर्यटक तथा धार्मिक यात्रामा रूचि हुनेहरूका लागि कहलिएको गन्तव्य हो । 

‘फोनमा सल्लाह गरेर त्यता जाने भएपछि सुजन शुक्रबार विराटनगरबाट काठमाडौं गएको थियो’ सोही परिवारका नातेदारसमेत रहेका मोरङका पत्रकार विवेक मिश्रले उद्घोषसँग भने ‘शनिबार रसुवा पुगेका उनीहरूको साथमा हाम्रै परिवारकी एक जना बहिनी पनि थिइन् । दुर्घटना भएको जानकारी उनैले दिएकी हुन् ।’ 

मृतक मनोज  न्यौपाने पत्रकार मिश्रका सानिमाका छोरा हुन् । सुजन मामाका छोरा हुन् । मिश्रले दिएको जानकारी अनुसार उनीहरू दुवै जना अविवाहित थिए ।

मिश्रका अनुसार सुजन चिप्लिएर गोसाइँकुण्डमा डुबेका थिए । उनलाई जोगाउन मनोज हतारहतार हामफालेका थिए । तर, दुवै जना बाहिर निस्कन सकेनन् । 

‘सुजन चिप्लिएर लडेर कुण्डमा डुब्न पुगेछ । दाइ डुबेको देखेपछि मनोज पनि हतारहतार हामफालेर भित्रै छिरेर तान्न खोजेछ’ मिश्रले भने ‘तर, पौडीमा अभ्यस्त नभएका दुवै जना बाहिर निस्कनै सकेनन् । समयमै उद्धार हुन पनि सकेन ।’

मिश्रका अनुसार मनोजको परिवारमा क्यान्सरपीडित आमा, बुबा र बहिनी छन् । 

बहिनीलाई मनोजले आफूसँगै राखेर काठमाडौंमा पढाइरहेका थिए । सुजनको परिवारमा आमा र दाजुभाउजू छन् ।  

पौडिन नजान्ने उनीहरूलाई अत्यधिक चिसो पानीले पनि कक्रक्क पारेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । ‘घटनापछि हामी रसुवा प्रहरीसँग लगातार सम्पर्कमा थियौं’ मिश्रले भने ‘तर, अत्यधिक चिसो पानी र खराब मौसमले समयमा उद्धार हुनै सकेन ।’ 

सोमबार बिहान शव फेला पर्दा सुजन र मनोजको शव एकैठाउँ भेटिएको थियो । उद्धारकर्ताहरूले सार्वजनिक गरेको भिडियोमा दुई जनाले एकअर्काको हात समातेको देखिन्छ ।

परिवारले दिएको जानकारी अनुसार उनीहरूको शव मोरङ ल्याउन  खोजिएको तर खराब मौसमका कारण सम्भव भएको छैन । हेलिकप्टर उड्न नसकेका कारण शव ल्याउन नपाइएको हो । 

‘त्यहाँको प्रशासनले हेलिकप्टर चल्न सक्ने अवस्था छैन, मौसम खराब छ भनिरहेको छ’ मिश्रले भने ‘अहिलेसम्म रसुवामै रहेको शव सकेसम्म छिटो ल्याउन पाए हुन्थ्यो भन्नेमा लागेका छौं ।’

यसबारे उद्घोषले रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेललाई सोधेको थियो । 

प्रमुख जिल्ला अधिकारी पौडेलले मौसमको खराबीले हेलिकप्टर उड्न नसकेर शव पठाउन नपाएको जानकारी दिए । 

‘मौसमको खराबीले सोमबार  हेलिकप्टर उड्नै सकेन’ उनले भने ‘सुरक्षा निकायको रोहबरमा दुवै जनाको शव यहीँ छ । मंगलबार पठाउने प्रयासमा छौं ।’ 

एकै परिवारका दुई युवा सदस्यले यसरी ज्यान गुमाउँदा बेलबारी र विराटनगरमा रहेका आफन्त, छिमेकी विह्वल छन् । 

‘अकल्पनीय घटना भयो’, पत्रकार मिश्रले भने ‘घुमिरहन मनपराउने हाम्रा परिवारका दुई सदस्य घुम्दाघुम्दै सधैंका लागि गए ।’

View : 461

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved