Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सहमतिका आधारमा माग सम्बोधन गर्ने सहमति भएपछि केदार कार्कीले तोडे अनसन

उद्घोष सम्वाददाता
२६ भदौ २०८१, बुधवार

विराटनगर । ९ बुँदे माग सम्बोधनको माग गर्दै आमरण अनसनमा बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन् । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको उपस्थितिमा सहमति भएपछि कार्कीले बुधबार राति ९ बजेर २५ मिनेटमा तातोपानी पिएर अनसन तोडेका हुन् ।

मन्त्री अधिकारीले अनसनको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । कार्कीले उठाएका धेरै बिषयहरुमा सरकारले यसअघि नै बजेटमा समावेश गरेको र केही मागहरुलाई आगामी दिनमा परस्पर सहमतिमा सम्बोधन गर्ने सहमति भएको बताए ।

‘उहाँले उठाउनु भएका धेरै माग सम्बोधन भएका पनि छन्, केही मागमा परस्पर सहमतिबाट अघि बढ्ने सहमति भएको छ’ उनले भने, ‘हामी सहमतिबाटै अघि बढ्ने छौं, सरकार र उहाँ (केदार कार्की) बीचमा सहमति गरेर आजैदेखि उहाँको अनसन समापन गर्दैछौं ।’ 

अधिकारीले नेकपा एमाले र नेपाली कांग्रेस आगामी दिनमा मेलमिलापमा अघि बढ्ने जानकारी दिंदै दुवै दलको संयुक्त सरकारलाई सवैबाट समेत सहयोग रहने बताए ।

कार्कीले उपचार नपाएर अस्पतालमा बन्धक बनेर छुटाइएको बच्चाको हातबाट तातोपानी पिएर अनसन तोडेको जानकारी दिए ।

कार्कीलाई अनसन तोडाउनका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालगायत देवकोटा चोकमा पुगेका थिए ।

कार्की मंगलबार अपरान्ह साढे ४ बजेतिर कोशी प्रदेश सभा भवनबाट एक सय मिटर नजिकै अनसनमा बसेका थिए । उनी निषेधित क्षेत्रमा अनसनमा बसेको भन्दै स्थानीय प्रशासनले नियन्त्रणमा लिएर घर पुर्याएर छोडेको थियो । तर कार्की राती नै अनसन स्थलमा फर्किएर त्यहाँभन्दा केहि पर देवकोटा चोक पूर्वको स्थानमा पुन: अनसनमा बसेका थिए ।

View : 143

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved