Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

पहिलो कृषि एक्स्पो भव्य, एक लाखले गरे अवलोकन

उद्घोष सम्वाददाता
३१ भदौ २०८१, सोमवार

विराटनगर । कोशी प्रदेशमै पहिलो पटक निजी क्षेत्रको अग्रसरतामा आयोजित चारदिने कृषि एक्स्पो २०८१ भव्य रूपमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा मोरङको कटहरी गाउँपालिका–१ मा प्रयोगविहीन भएर बसेको कृषि थोक बजार केन्द्रमा आयोजित एक्स्पो अवलोकनकर्ताहरूको उपस्थिति र एक्स्पोको उद्देश्य अनुसार पूर्ण रूपमा सफल भएको जनाइएको छ ।

महासंघका अध्यक्ष राजेन्द्र राउतले करिव एक लाख मानिसले एक्स्पो अवलोकन गरेको दाबी गरे । उनले कोशीका अधिकांश जिल्ला र मधेश प्रदेशका कृषक, कृषि क्याम्पस, विभिन्न स्कूल तथा कलेजका विद्यार्थीलगायत अन्य सर्वसाधारणको ठूलो सहभागितामा भव्य रूपमा एक्स्पो सम्पन्न भएको बताए । 

एक्स्पोमा कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरूबाट सिफारिस भएर आएका आठ सय कृषक र विद्यार्थी लगायतलाई दैनिक निःशुल्क खाना खुवाइएको बताए । साथै तीन सयजनालाई निःशुल्क आवासको व्यवस्था गरिएको जानकारी दिए ।

भदौ २७ देखि सुरू भएको एक्स्पो आइतबार एक समारोहका बीच समापन गरिएको छ । समापनका अवसरमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले स्वदेशमै कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्न र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न एक्स्पो सफल भएको बताए । उनले विदेशमा गएपछि जस्तो काम पनि गर्न तयार हुनुभन्दा स्वदेशमै कृषि क्षेत्रमा काम गर्नुपर्ने बताए । 

सरकारले गर्नुपर्ने कृषि एक्स्पोलाई निजी क्षेत्रको नेतृत्वमा धेरै क्षेत्रलाई जोडेर आयोजना गरिएको भन्दै मन्त्री हाङ्गामले प्रशंसा गरे ।

‘अब आफ्नै देश, आफ्नै खेतबारीमा हामी व्यवसायिक बन्नुपर्छ, विदेशमा गएर जे पनि गर्नुभन्दा स्वदेशमै कृषिमा काम गर्नुपर्छ’ मन्त्री हाङ्गामले भने, ‘अब कृषि क्षेत्रमा अघि बढ्नका लागि अवसरहरूको खोजी गरौं, यसैबाट रोजगारी सिर्जना गर्दै विकासमा अघि बढौं ।’

उनले आफू मन्त्री बन्नुअघि एक्स्पो सुरू भएको र मन्त्रालय पनि उद्योग र कृषि क्षेत्रसँग सम्बन्धित भएकोले सपथ खाँदा नै आफ्नो गृहजिल्ला ताप्लेजुङको अल्लोबाट बनेको जुत्ता लगाएर आफ्नो देशको उत्पादनको प्रयोगलाई प्रबर्द्धन गरेको बताए ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले प्रदेश सरकारले कटहरी गाउँपालिकाले व्यवस्थापन गर्नेगरी कृषि उपज केन्द्रको सञ्चालन अघि बढेको बताए ।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत शीतभण्डार केन्द्र पनि निर्माण भएका कारण यस क्षेत्रका किसानलाई त्यसको उपयोग गर्न आग्रह गरे । सचिव दाहालले कृषि क्षेत्रमा यान्त्रिकरण बढेकोले अब नेपालमै कृषि औजार बनाउनका लागि निजी क्षेत्रले सोच अघि बढाउनुपर्ने बताए ।

एक्स्पोको मुख्य सहयोगी संस्था कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले प्रयोगविहीन अवस्थामा रहेको कृषि थोक बजार केन्द्रलाई निजी क्षेत्रकै सहभागितामा सञ्चालन गर्दै जानुपर्ने बताए । उनले प्रदेश सरकारले थोक बजार केन्द्रलाई सञ्चालनका लागि सहयोग गर्नुपर्ने बताए ।

एक्स्पोमा कृषि बजार प्रणाली र मूल्यशृङ्खला, कस्टम हायरिङबारे जानकारी र प्रयोग, पशुपक्षी, कृषि विज्ञानका विषयमा विज्ञ र वैज्ञानिकहरूको सहभागितामा प्यानल छलफल आयोजना गरिएको थियो । 

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरसहित नेपालका कृषि अनुसन्धानकर्ता, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, भारतीय विज्ञहरू डा. कन्चन भौमिक, कृसेन्दु सिन्हा र डा. सुभाषिश बललगायतले कृषिमा एजोला तथा ब्लुग्रिन एल्गीको उत्पादन र प्रयोग तथा जैविक मल तथा विषादीको उत्पादन र प्रयोगबारे जानकारी गराएका थिए ।

एक्स्पोमा नेपाल र भारतका कृषि मेसिनरी, कृषि उपज, भेटेनरीलगायत साना किसानहरूको उत्पादनदेखि हिमाली र पहाडी जिल्लाका उत्पादनहरूलाई १३० वटास्टलहरूमा प्रदर्शनीमा राखिएका थियो ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, अगुवा किसान एवं पूर्व प्रदेशसभा सदस्य चुमनारायण तबदार, भारतीय कृषि तथा पर्यटन व्यवसायी सन्तोष नायकलगायतले कृषि एक्स्पो भव्य रूपमा सफल भएको बताए ।

View : 169

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved