विराटनगर । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई पठाएको पाँचबुदे प्रस्ताव सार्वजनिक गरेको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा देउवा पक्षले गत जेठ १८ गते उपसभापति विश्वप्रकाश शर्मामार्फत उक्त प्रस्ताव संस्थापन पक्षलाई पठाइएको भए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको जनाएको हो ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएको देउवा पक्षले असोजमा हुने १५औं महाधिवेशनमा सहभागी हुने वातावरण निर्माण गर्न प्रस्ताव अघि सारेको जनाएको छ ।
पत्रकार सम्मेलनमा नेता मीनबहादुर विश्वकर्माले पार्टी एकताका लागि आफूहरूले अधिकतम प्रयास गरे पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले त्यसतर्फ सार्थक पहल नगरेको आरोप लगाए ।
उनले पार्टीभित्रको अवस्था सुधारका लागि साउन महिनाभित्र राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेको पनि जानकारी दिए ।
देउवा पक्षले प्रस्तावमा १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसंग समायोजन गरी सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख गरेको छ ।
त्यस्तै, सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्ने, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकबाट १५औं महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने तथा वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति गठन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी, गगन थापा संयोजक रहेको समितिबाट टुंगो लगाइएका सबै क्रियाशील सदस्यलाई १५औं महाधिवेशनमा स्वतः सहभागी हुने व्यवस्था गर्नुपर्ने र डिजिटल इन्ट्रीलाई सदस्यता नवीकरणसँग नजोडी महाधिवेशनमा सहभागी हुने अधिकार सुनिश्चित गर्नुपर्ने माग पनि प्रस्तावमा समेटिएको छ ।
View : 27
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved