विराटनगर । किसानले पालेका चौपायामा लम्पी स्किन संक्रमणले भयावह रुप लिइरहेका बेला सरकारी उदासिनताले किसानको घाउमा नुनचुक छरिरहेको छ ।
कोशी प्रदेशका विभिन्न जिल्लामा लम्पी स्किनले प्रकोपको रुप लिएर भयावह अवस्था निम्त्याएका बेला स्थानीय तथा प्रदेश सरकारहरुले भने प्रकोप नियन्त्रण र उपचारमा ध्यानसमेत नदिएको किसानको गुनासो छ ।
आँगनको सरकार मानिने स्थानीय तहको उदासिनताले किसानलाई झनै आक्रोशित तुल्याएको छ । सुनसरी, झापा र मोरङमा जेठको अन्तिम सातादेखि देखिएको यो रोग अहिले नियन्त्रणबाहिर पुगिरहेको अवस्थामा पनि स्थानीय तहहरुले अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन् ।
लम्पी स्किन रोग एक प्रकारको भाइरल रोग हो, जुन मुख्यतया गाईगोरु र राँगा–भैंसीमा देखिन्छ ।
यो रोग क्याप्रिपोक्स नामक भाइरसका कारण सर्छ । संक्रमित जनावरमा शरीरभरि फोका र गाँठा देखिनु, ज्वरो आउनु, दूध उत्पादन अचानक कम हुनु, खाने इच्छा हराउनु जस्ता लक्षण देखिन्छन् ।
रोग दीर्घकालीन भएमा चौपाया कमजोर हुँदै जान्छन् र मृत्युसमेत हुन सक्छ । त्यसो त यो रोग सिधा मान्छेमा सर्दैन तर किसानको आय–आर्जन, दुग्ध व्यवसाय र सम्पूर्ण कृषि प्रणालीमा गम्भीर असर पार्छ ।
सुनसरीका किसानले विगत तीन महिनादेखि ठूलो नोक्सानी व्यहोरेका छन् । दूध उत्पादनमा ह्रास हुनुका साथै हजारौं चौपायाको मृत्यु भएपछि उनीहरूको रोजगारी र जीवनयापन नै संकटमा परेको छ । तर स्थानीय तहले भने नियन्त्रणका लागि ठोस कदम नचालेको किसानको गुनासो छ ।
बर्सेनि यो रोग फैलिंदै आएको भए पनि स्थानीय तहले यसअघि नै बजेट छुट्याएर तयारी गर्नुपर्नेमा उल्टै पशु स्वास्थ्य क्षेत्रमा छुट्याइएको रकम विकास–निर्माणतर्फ स्थानान्तरण गर्ने प्रवृत्ति देखिएको छ । यस कारण खोप अभियान प्रभावकारी बन्न सकेको छैन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र, सुनसरीका प्रमुख डा मनोजकुमार महतोका अनुसार कोशी प्रदेशमा मात्रै २८ हजार २५९ वटा चौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ । तीन महिनाको अवधिमा ९८९ वटा गाईगोरु र राँगा–भैंसी मरेको तथ्याङ्क छ ।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले खोप वितरणका लागि प्रदेशका विभिन्न भेटेरिनरी अस्पताल र पशु सेवा केन्द्रमार्फत खोप उपलब्ध गराएको भए पनि स्थानीय तहहरुले बजेट अभाव देखाउँदै आवश्यक जनशक्ति परिचालन गर्न नसकेको जानकारी दिएको छ ।
विशेषज्ञहरुका अनुसार लम्पी स्किन रोगको दीर्घकालीन समाधानका लागि तीन तहका सरकारबीच समन्वय अनिवार्य छ ।
नियमित खोप अभियान, जनचेतना कार्यक्रम, चौपाया ओसारपसारमा कडाइ र रोग देखिएका क्षेत्रमा क्वारेन्टाइन प्रभावकारी बनाउनु जरुरी देखिन्छ ।
तर हाल देखिएको अवस्था भने किसानमै सबैभन्दा बढी बोझ पर्न गएको छ । आत्मनिर्भर भएर दुग्ध व्यवसाय गरिरहेका किसानहरू यस प्रकोपले धरासायी हुने खतरा बढेको छ ।
किसानको जीविकासँग प्रत्यक्ष जोडिएको यस समस्यालाई स्थानीय तहले बेवास्ता गर्ने हो भने कृषि क्षेत्रकै अस्तित्व संकटमा पर्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
View : 332
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved