Biratnagar, Morang, Nepal
१ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा २५ लाखभन्दा बढी बीमालेख

उद्‌घोष संवाददाता
१ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशमा २०८३ असार मसान्तसम्म २५ लाखभन्दा बढी जीवन तथा निर्जीवन बीमालेख जारी भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार प्रदेशमा जीवनतर्फ २० लाख ६९ हजार ८२६ र निर्जीवनतर्फ ४ लाख ४३ हजार ४२७ गरी कुल २५ लाख १३ हजार २५३ बीमालेख जारी भएका हुन् ।

प्राधिकरणको कोशी प्रदेश कार्यालयले बुधबार विराटनगरका पत्रकारका लागि आयोजना गरेको बीमा सम्बन्धी सचेतना कार्यक्रममा सहायक निर्देशक सचिन राईले सो अवधिसम्म कोशी प्रदेशमा जीवन बीमातर्फ २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको बताए । यो रकम कुल जीवन बीमाशुल्क संकलनमा १२ दशमलव ३० प्रतिशत भएको जानकारी दिए ।

जीवन बीमातर्फ प्रदेशमा बीमकका ३०३ वटा कार्यालय रहेका छन् भने ६ हजार ७३१ जना कर्मचारी कार्यरत रहेको उनले बताए । 

त्यस्तै, निर्जीवन बीमातर्फ ४ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । निर्जीवन बीमाशुल्क संकलनमा कोशी प्रदेशको हिस्सा ९ दशमलव ६९ प्रतिशत रहेको सहायक निर्देशक राईले बताए ।
निर्जीवन बीमातर्फ प्रदेशमा बीमकका १७८ वटा कार्यालय रहेका छन् भने ६३० जना कर्मचारी कार्यरत छन् ।

कृषि, पशुपन्छी तथा जडीबुटी बीमातर्फ पनि प्रदेशमा बीमाको पहुँच विस्तार भइरहेको प्राधिकरणले जनाएको छ ।

२०८३ असार मसान्तसम्म पशुपन्छी बीमातर्फ १९ हजार ३० र बाली बीमातर्फ ६ हजार ६११ गरी २५ हजार ७०१ बीमालेख जारी भएका छन् । यी बीमाबाट कुल २३ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । पशुपन्छी बीमाबाट २२ करोड ४८ लाख र बाली बीमाबाट १ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको हो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको सहकार्यमा आयोजित कार्यक्रममा सहायक निर्देशक राईले प्रदेशको बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा पहुँच विस्तारका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट बीमाको महत्व र आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्न सकिनेमा जोड दिइएको थियो । साथै, सम्पत्ति, घर, लघु तथा कृषि बीमालाई गाउँ–गाउँसम्म पु¥याउन सञ्चार क्षेत्रले सहजीकरण गर्न सक्ने क्षेत्रका रुपमा रहेको जनाइएको थियो ।

प्राधिकरण र पत्रकारहरूबीचको सहकार्यले बीमा सम्बन्धी सूचना तथा सचेतना विस्तार गर्न सहयोग पुग्ने र बीमा क्षेत्रमा हुने गरेका आपराधिक गतिविधिलाई निरुत्साहित गर्नसमेत मद्दत पुग्ने नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्कासहित महासंघका पदाधिकारी, मोरङ जिल्ला समितिका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागी पत्रकारहरूले बीमासम्बन्धी विषयमा आफ्ना जिज्ञासा राखेका थिए । 

View : 25

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved