विराटनगर । नेपालमा दिनहुँ जसो जघन्य अपराध श्रृङ्खलावद्ध रूपमा भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल मोरङले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सञ्जालले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बिहीबार मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्था, सञ्जाल, एकल महिलालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा ध्यानाकर्षण पत्र बुझाइएको हो । अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको अवसर पारेर ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।
मुलुकमा दण्डहीनताले गर्दा लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने सम्पूर्ण नेपालीको शिर झुकेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
दैनिक करणी र बलात्कार जस्ता हिंसाका घटनाहरू सार्वजनिक भइरहेको र यस्ता घटनाका वास्तविक दोषीहरू विभिन्न राजनीतिक संरक्षणको आडमा खुलेआम उम्कन सफल हुने गरेको र पीडितहरूले न्याय पाउन नसकेको कुरा उल्लेख छ ।
नेपालको मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को दफा ४ मा यस्ता जघन्य अपराधको घटनाको सूचनाकै आधारमा तुरुन्त अनुसन्धान प्रक्रिया अगाडि बढाइने व्यवस्था हुँदाहुँदै पनि सम्बन्धित घटनाको अनुसन्धान गर्ने निकायले पीडितको जाहेरी लिन अस्वीकार गर्दै आएको उल्लेख छ ।
प्रजिअ प्रेमप्रसाद भट्टराईले सरकारलाई ध्यानाकर्षण गराउँदै प्राप्त भएको पत्र प्रधानमन्त्री कार्यालयमा पठाइने बताए । ध्यानाकर्षण पत्रमा उल्लेख गरेका विषयहरूमा नेपाल सरकारको ध्यानाकर्षण हुनेमा आफू पनि विश्वस्त रहेको बताए ।
View : 182
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved