Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

३६ उम्मेदवार मैदानमा

नेकपा (संयुक्त) को देशभर चुनावी अभियान तीव्र

घनश्याम भूषाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएर पार्टी चुनावी मैदानमा होमिएको छ। पार्टीको २४१ सदस्यीय केन्द्रीय समिति र ९ सदस्यीय सङ्गठन विभागले देशभर चुनावी अभियान तीव्र पारेको छ।
उद्‌घोष संवाददाता
१४ फागुन २०८२, बिहिवार

Advertisement

विराटनगर । नेकपा (संयुक्त) ले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १०९ जना उम्मेदवार उठाएको छ। कोशी प्रदेशमा पार्टीले झापा र सुनसरीलाई मुख्य आधार बनाएर ३ जना प्रत्यक्ष उम्मेदवार उठाएको छ।

जसमा झापा–२ बाट श्रीप्रसाद सिटौला, सुनसरी–२ बाट अनिलकिरण नेपाल र सुनसरी–४ बाट सत्यनारायण लहौटिया छन्। बागमती प्रदेशमा पार्टीले सबैभन्दा बढी १५ क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिएको छ। जसमा काठमाडौँका ७, ललितपुरका ३ र भक्तपुरका २ क्षेत्र रहेका छन्।

त्यस्तै, मधेश प्रदेश इञ्चार्ज हरि काफ्लेका अनुसार महोत्तरीका चारै क्षेत्रसहित पर्सा र सर्लाहीमा गरी ६ जना उम्मेदवार चुनावी मैदानमा छन्।

यस्तै लुम्बिनीबाट ६ जना, सुदूरपश्चिमबाट ३ र कर्णाली प्रदेशबाट २ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।

यस पटक नेकपा (संयुक्त) को नेतृत्वले एउटा दुर्लभ राजनीतिक संस्कार प्रस्तुत गरेको छ। पार्टीको ८ सदस्यीय ‘कोर समूह’ मध्ये लक्ष्मी साह मात्र समानुपातिक सूचीमा छिन्।

कार्यवाहक अध्यक्ष घनश्याम भूषाल, अध्यक्ष चन्द्रदेव जोशी, वरिष्ठ नेताहरू घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, डा. विजय पौडेल, हरि काफ्ले र जीवनराम श्रेष्ठले न त प्रत्यक्षमा उम्मेदवारी दिएका छन्, न त समानुपातिक सूचीमा नै बसेका छन्।

शीर्ष नेताहरू उम्मेदवार नबनी नयाँ र युवा पुस्तालाई चुनावी मैदानमा उतारेर आफूहरू सङ्गठन सुदृढीकरण र परिचालनमा मात्र लाग्ने यो रणनीतिलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

पार्टीका अध्यक्ष चन्द्रदेव जोशी ९२ वर्षको उमेरका कारण सक्रिय राजनीतिमा रहन नसक्ने भएपछि प्रभावशाली नेता घनश्याम भूषाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएर पार्टी चुनावी मैदानमा होमिएको छ।

पार्टीको २४१ सदस्यीय केन्द्रीय समिति र ९ सदस्यीय सङ्गठन विभागले देशभर चुनावी अभियान तीव्र पारेको छ।

View : 281

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved