बुधबार कोशी प्रदेशसभाको मिडिया सेन्टरमा बोल्दै पूर्वमुख्यमन्त्री केदार कार्की । तस्वीर: उद्घोष
विराटनगर । कोशी प्रदेशमा एमालेसँग सत्ता सहकार्यको अन्तिम तयारीमा रहेकै बेला कांग्रेसका एक नेता तथा पूर्वमुख्यमन्त्रीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध विभिन्न आरोप लगाएर फायर खोलेका छन् । पूर्वमुख्यमन्त्री केदार कार्कीले बुधबार पत्रकार सम्मेलन गरेर वहालवाला मुख्यमन्त्री कार्की सेटिङमा चलेको आरोप लगाएका हुन् ।
पूर्वमुख्यमन्त्री कार्कीले वर्तमान मुख्यमन्त्री कार्कीलाई सेटिङ गरेको ठाउँमा मात्र बजेट खन्याएको भन्दै कांग्रेस यो सरकारको साझेदार भएकै कारण आफू चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् । कार्कीले आफू नेतृत्वको सरकारले अघि बढाएका कार्यक्रमलाई वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कटौती गरेको भन्दै आक्रोस पोखेका छन् । आफूले सुरु गरेका कार्यक्रमसहित आफ्नो निर्वाचन क्षेक्रमा केन्द्रित गरेका योजनाहरू कटौती गरेकोमा कार्की निकै त्रुद्ध बनेका छन् ।
पूर्वमुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएकोले आफूले सांसदको हैसियतमा संघर्षमा उत्रिन पाउने जिकिर गरेका छन् । आफू नेतृत्वको सरकारले सुरु गरेका धेरै योजनाहरू वर्तमान सरकारले हटाएको भन्दै उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध अनेकौं आरोप लगाएका छन् ।
‘अघिल्लो सरकारले ल्याएको कार्यक्रमहरूलाई पछिल्लो सरकारले लिएर जान्छ, तर अघिल्लो सरकारले गरेका राम्रा र जनतालाई मुखरित गर्ने कामहरूलाई पनि सरकारले काट्नु उचित हुँदैन’ कार्कीले भने, ‘मैले बजेट हेरेँ, १५ करोड बढीको सवारी साधन खरिदका लागि बजेट छ । हुन त अहिलेको मुख्यमन्त्री सवारी साधनमा अलिकति राम्रै दख्खलअन्दाज गरेको हुनुहुन्छ । उहाँ सवारी साधन प्रिय पनि हुनुहुन्छ ।’
उनले वर्तमान हिक्मतकुमार कार्की खुलेआम सेटिङमा लागेको आरोप लगाए । सेटिङ मिलेको ठाउँमा मात्रै बजेट छुट्याएको पूर्वमुख्यमन्त्रीको गम्भीर आरोप छ । आफूले सरकारको नेतृत्व गर्दा केही लोकफ्रिय कार्यक्रमहरू अघि बढाएकोमा ती कार्यत्रम अहिले काटिएको दाबी गरे ।
१० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रम, शैलजा आचार्य मुटु रोग उपचार केन्द्र, गरिव विद्यार्थी छाक्रवृत्ति कार्यत्रमदेखि विराटनगरको केशलिया करिडोर निर्माण र विराटनगर–१२ को सम्पन्न वस्ती केन्द्रित रहेर बनाइएको सुकुम्वासीलाई जग्गा खरिदमा ब्याज मिनाहा गर्ने गरी विनियोजित बजेट कटौती भएकोमा उनले आक्रोस पोखेका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरू काट्नका लागि तत्कालीन गठबन्धनमा रहेको माओवादीका मन्त्रीहरूलाई दबाब दिएको कुरा माओवादीकै संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूलाई सुनाएको उनले ठोकुवा गरे ।
बुधबारको पत्रकार सम्मेलनमा पूर्वमुख्यमन्त्री कार्कीले जनतासँग जोडिएका विषयमा आफू एक्लै भए पनि संघर्षमा उत्रिने बताए । ‘जनतासँग जोडिएका विषयहरूलाई सम्बोधन भएन भने लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै संघर्ष गर्छु’ उनले भने, ‘जनताको कुरा उठाउनलाई सरकार जसको भए पनि, जो भए पनि, जो मुख्यमन्त्री, मन्त्री बने पनि जनताको विषय उठाउनलाई ‘कम्प्रोमाइज’ हुँदैन, कडाभन्दा कडा संघर्ष हुन्छ ।’
संविधानको धारा १६८ को उपधारा (५) को सरकारले विश्वासको मत नै लिनु नपर्ने जिकिर गर्दै सर्वोच्च अदालत गुहारेका कार्कीले कोशी प्रदेशसभामा प्रस्तुत भई गरिएको वार्षिक बजेट विनियोजनको छलफलमा भने सहभागी भएका थिएनन् । उनी काठमाडौंमै आफ्नो सरकार सर्वोच्चले फर्काइदिने भन्दै आशावादी भएर बसेका थिए ।
कांग्रेसमा एक्लिदै कार्की
पूर्वमुख्यमन्त्री कार्कीले वर्तमान सरकारविरुद्ध संघर्षको चेतावनी दिंदै गर्दा यसअघि उनलाई साथ दिएका विद्रोही समूहका सांसदहरू भने मन्त्री बन्ने दौडधुपमा काठमाडौं केन्द्रित छन् । उनीहरूले विगतको विद्रोही समूहबाट कार्की मुख्यमन्त्री बने पनि अहिले आफूहरूलाई मन्त्री बनाउने विषयमा भने कार्की लगातार पन्छिएको गुनासो गर्दै आएका छन् ।
त्यसो त उनी मुख्यमन्त्रीमा रहेकै बेलामा उनकै समूहका मन्त्रीहरूले फोन गरेर कार्कीलाई छिटो बर्खास्त गर्न भन्दै आग्रह गरेको एमालेका नेताहरूले बताइसकेका छन् । मुख्यमन्त्री बनेपछि कार्कीको कार्यशैलीबाट कांग्रेसका अधिकांश सांसदहरू रुष्ट हुनुका साथै उनकै समूहका केही मन्त्री र सांसदहरूले मुख्यमन्त्रीबाट हटाउन एमालेका नेताहरूलाई भेटेरै गुहारेको स्रोतको दाबी छ ।
कार्कीले मुख्यमन्त्री भएकै बेला डा. शेखर कोइरालालाई समेत एउटा भेटघाटका लागि लामो समय पर्खाएर अन्तिममा नभेटेको उनी निकटकै कार्यकर्ताहरूले बताउने गरेका छन् ।
मुख्यमन्त्री रहेको बेलामा लगातार विवादित अभिव्यक्तिहरू दिएको र मुख्यमन्त्रीको पदीय हैसियत कायम गर्न नसकेको भन्दै कांग्रेसकै नेता कार्यकर्ताहरूले उनको आलोचना गरेका थिए ।
कार्की अहिले संसदीय दलभित्र एक्लिएको र पार्टीबाट अरु सांसदहरू मन्त्री बन्न लाग्दा गठबन्धनमै दरार उत्पन्न गर्ने मनसायका साथ सरकार विरुद्धमा उक्रिएर त्रान्तिकारी बन्न खोजेको एक सांसदले बताए ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमुख्यमन्त्री कार्कीको सरकारविरुद्ध संघर्षमा उत्रिने चेतावनीले समेत उनी एक्लिएर यस्तो अभिव्यक्ति दिएको उनले बताए । पूर्वमुख्यमन्त्री कार्की पछिल्लो पटक कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने र शौचालय थुनिदिने धम्की दिएर अर्को विवादमा पनि मुछिएका छन् ।
View : 192
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved