विराटनगर । कोशी प्रदेशका सुजन थपलियाले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल पुलिस क्लबविरूद्ध थपलियाले १०५ रन प्रहार गरेका हुन् । उनले १२६ बल खेल्दा ६ चौका र ८ छक्का प्रहार गरी उनले राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो शतक प्रहारको कीर्तिमान बनाएका हुन् ।
प्रधानमन्त्री कपमा यो चौथो शतक हो । यसअघि लगातार तीन दिन शतक प्रहार भई सकेको छ । पहिलो दिन नेपाल पुलिस क्लबका रसिद खान, दोस्रो दिन नेपाल एपीएफ क्लबका सन्दीप जोरा र तेस्रो दिन त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरिसकेका छन् ।
मंगलबार भएको सो खेलमा थपलियाले शतक प्रहार गरे पनि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४८.२ ओभरमा १६६ रनमै अलआउट भयो ।
थपलियाबाहेक अंकित सुवेदीले १० रन र अभ्यान्स तिमिल्सिनाले २३ रन जोडे भने कोशीका अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।
बलिङमा नेपाल पुलिस क्लबका करण केसीले ३ विकेट लिए । उनले ९.२ ओभरमा २८ रन खर्चिए । ललित राजवंशी र सुनिल धमलाले २–२ विकेट लिए भने रशिद खान, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट हात पारेका थिए ।
View : 130
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved