Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सेवा दिन सहयोग लिनुपर्ने प्रशासनलाई बाध्यता

उद्‌घोष संवाददाता
८ असोज २०८२, बुधवार

विराटनगर । जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी र लुटपाट गरेपछि मोरङलाई प्रशासनिक नेतृत्व गर्ने जिल्ला प्रशासन कार्यालय यतिबेला जसले सहयोग गरेपनि लिनुपर्ने बाध्यतामा पुगेको छ ।

भौतिक पूर्वाधार र फर्निचरको अभावमा कर्मचारीले सेवा दिन नसकेकाले प्रशासन सहयोग स्वीकार गर्न बाध्य भएको हो । जनताले प्रत्यक्ष सेवा पाउने सो कार्यालयमा कर्मचारी बस्ने ठाउँसमेत नराखी आगजनी गरिएको थियो । 

कर्मचारी र सेवाग्राही बस्नलाई कतिपयले प्लाष्टिकका कुर्सी दिएका छन् । मदिरा ब्यवसायी संघले दिएको प्लाष्टिकको कुर्सीमा सेवाग्राही बस्छन् । 

आगजनी र तोडफोडमा परेका फर्निचर तथा कुर्सीमा कर्मचारीहरु बस्दै आएका छन् ।

निर्माण ब्यवसायी संघले सेवा प्रवाहका लागि प्रशासन कार्यालयका कोठाहरु मर्मत गर्दैछ । कोठा तयार भएपछिका लागि यातायात ब्यवसायीले पंखा दिएका छन् । 

सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालिले मंगलबार ३० थान सिलिङ पंखा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई प्रदान गरेको छ । प्रशासन कार्यालयका कोठा मर्मत भएपछि पंखा जडानसमेत गराइदिने प्रालिका महासचिव धर्मदेव साहले बताए । 

प्रजिअ यादवले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता अति आवश्यक सेवा दिन ध्वस्त भएका कोठाहरु मर्मत गरिंदै गरेको बताए । यी सेवा तत्काल प्रवाह गर्न शुभचिन्तकहरुले बिभिन्न खाले सहयोगहरु गरेको उनले बताए ।

निर्माण ब्यवसायी संघ मोरङका सचिव राधेश्याम कट्टेलका अनुसार निर्माण ब्यवसायीहरुले रकम संकलन गरेर राष्ट्रिय परिचयपत्र वितरण गर्न पार्किङ स्थललाई घेराबेरा गरिदैछ । 

मुद्दा फाँट र महत्वपूर्ण कागजात राख्ने कोठाको सबै मर्मत संघले गरिदिने उनले जानकारी दिए । त्यसका लागि संघले तीब्र गतिमा काम सञ्चालन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराधको मुद्दा खेपिरहेका मानिसहरु आएर आगजनी गरेको अनुमान गरिएको छ । 

मुद्दाका फाइल निकालेर उनीहरुले नै जलाएको प्रशासनको अनुमान छ । उच्छृङ्खल समुहले मुद्दाका फाइल बोकेर प्रशासन कार्यालय परिसरमा निकाल्दै जलाएका थिए । 

जिल्लाका हरेक सरकारी कार्यालयलाई निगरानीसमेत गर्ने यो महत्वपूर्ण कार्यालयमा आगजनी गर्न राजनीतिक दलका अनुहार चिनिएका तथा सांसदको सचिवालयमा बसेर सरकारी सेवा लिंदै आएका ब्यक्तिहरु पनि संलग्न रहेको प्रशासन स्रोतले जनाएको छ । 

घटनामा संलग्नहरुको पहिचानका लागि प्रहरीले फोटो र भिडियो संकलन गरिरहेको जनाइएको छ ।

View : 332

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved