Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजी आन्दोलनको मौका छोपेर सवारी दर्ता प्रकरण

यातायात इटहरीका प्रमुख लुइँटेल मन्त्रालय तानिए, छानबिनको प्रतिवेदन अख्तियारमा

उद्‌घोष संवाददाता
२ कार्तिक २०८२, आइतवार

विराटनगर । भदौ २४ मा जेनजी समूहले गरेको उग्र प्रदर्शनपछि भएको तोडफोड र आगजनीको मौका छोपेर सात सय बढी सवारी साधन दर्ता गर्ने कार्यमा संलग्न रहेको आरोप लागेका यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख बाबुराम लुइँटेलमाथि थप छानबिन अघि बढेको छ । 

मन्त्रालयले लुइँटेललाई मन्त्रालयमा तानेर उनीमाथि भएको अनुसन्धानको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पठाइएको हो ।

जेनजी समूहको तोडफोड र आगजनीका कारण यातायात व्यवस्थापन कार्यालय इटहरी अधिकांश रुपमा क्षति पुगेको थियो । 

कार्यालयका काम गर्ने कार्यकक्ष, विद्युत र इन्टरनेटसमेत नभएको मौका छोपेर कार्यालय प्रमुख लुइँटेलले असोज ५ र ७ गतेका दिन सयौं सवारी साधनको दर्ता गरेको पाइएको हो ।

कार्यालय पूर्ण रुपमा ध्वस्त भएको अवस्थामा तत्काल कामकाज गर्न नसकिने भएकोले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य आफैं असोज २ गते इटहरी पुगेर कार्यालयको अनुगमन गरेका थिए । 

उनले सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय नगरी कार्यालयको सेवा प्रवाह सञ्चालन नगर्न निर्देशनसमेत दिएका थिए । 

तर, यातायात कार्यालयका प्रमुख लुइँटेलले भने त्यसपछि कार्यालयको युजर आइडी र पासवर्ड प्रयोग गरेर व्यक्तिगत कम्प्युटरबाट सवारी साधन दर्ता गरेको अनुसन्धानबाट खुलेको थियो ।

कार्यालय बन्द रहेको अवस्थामा सवारी साधन दर्ता भएको घटना सार्वजनिक भएपछि मन्त्रालयले छानबिनको प्रतिवेदन अख्तियारमा पठाएर लुइँटेलमाथि थप छानबिन अघि बढाउने निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ ।

‘मन्त्रालयको तत्कालिन कार्यालय प्रमुख लुइँटलमाथि थप छानबिन अनुसन्धान अघि बढाएको छ’ स्रोतले भन्यो, ‘हाललाई निज व्यक्ति कार्यालयमै रहिरहँदा बसिरहँदा घटनाको प्रमाण नष्ट गर्ने सम्भावना भएकोले मन्त्रालयको सिफारिसमा प्रमुख सचिवले आन्तरिक मामिलामै हाजिर हुने गरी फिर्ता बोलाउनु भएको छ ।’

कार्यालय प्रमुख लुइँटेलले कार्यालय नै सञ्चालन नभएको अवस्थामा सवारी साधन दर्ता सम्बन्धी कार्य गरेपछि मन्त्रालयले उनीमाथि स्पष्टिकरणसमेत सोधेको थियो । 

उनले आफ्नो स्पष्टिकरणमा कार्यालयको सवारी दर्ता सम्बन्धी १७ हजार थान भीआरएस बिल जलेको जवाफ दिएको जनाइएको छ । उनको यस्तो जवाफसमेत शंकास्पद रहेको मन्त्रालयले जनाएको छ ।

‘यसको पनि मन्त्रालय र अरु कर्मचारीलाई जानकारी नदिई अर्को कसैको घरमा अमुक वाईफाई र कम्प्युटर चलाएर निश्चित कम्पनीको लागि काम गरेको हाम्रो निष्कर्ष रहेको छ’ स्रोतले भन्यो, ‘मन्त्रालयको तर्फबाट गरिएको छानबिनको प्रतिवेदनलाई स्वीकृत गरेको छ, स्वीकृत गरेपछि प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थप अनुसन्धानका लागि पठाइएको छ ।’

यो घटना बाहिरिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले कडाईका साथ निगरानी गर्न मन्त्रालयका कर्मचारीलाई आग्रह गरेका छन् । 

उनले आपूm भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता अपनाएर अघि बढ्ने बताउँदै यातायात कार्यालयमा पछिल्लो पटक भएको घटनाका दोषीहरूलाई कुनैपनि कारण देखाएर उम्किन नसक्ने बताए ।

View : 388

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved