Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई

उद्घोष सम्वाददाता
३ चैत २०८०, शनिवार

विराटनगर । पहिलो सिजनको कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि आर्मीले उचालेको छ । विराटनगर–१९ स्थित बैजनाथपुर क्रिकेट रङ्गशालामा शनिबार भएको फाइनलमा नेपाल आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मी सामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य आर्मीले १२ दशमलव २ बल फालेर एक विकेटको क्षतिमा पुरा गरेको हो । जितका लागि ३ रन आवश्यक हुँदा इमरान शेखको चौकाको मद्दतले आर्मीले ११२ रन बनाउँदै प्रतियोगिता जितेको हो ।

आर्मीका ओपनर ब्याटर त्रितराज दासले ३३ बलमा २ छक्का र ५ चौकासहित अर्ध शतक बनाए । त्यस्तै इमरान शेखले दुई छक्कासहित ३८ को योगदान दिए ।
आर्मीका सन्तोष कार्की दिनेश अधिकारीको बलमा क्याच आउट भएका थिए ।

कर्णालीले विपिन रावलले सर्वाधिक २७ रन जोडे । कप्तान रविन्द्र शाही र मनिष थापाले २१–२१ रनको योगदान गरे । दिनेश अधिकारीले १२ रन बनाए । त्यस्तै दिपेन्द्र रावत ६, अर्जुन घर्ती ४, हिमांशु शाही २, युनिश ठकुरी र अनुज चनारा १–१ रनमात्रै बनाए । दिवान पुनले नटआउट ५ रन खेलेका थिए ।

कर्णालीलाई रोक्न आर्मीका त्रितराज दास, शहाब आलम, सुमित श्रेष्ठ र बसिर अहमदले समान २–२ विकेट लिएका थिए । पवन कार्कीले पनि १ विकेट लिए ।

जितसँगै आर्मी प्रतियोगिताको अविजित टोली बनेको छ । फागुन २२ देखि सुरु भएको प्रतियोगिताको फाइनलसम्म आइपुग्दा समुह ‘ए’ को शीर्ष टोली आर्मीले उपाधि समेत रक्षा गरेको हो ।

सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पन्छाउँदै फाइनल यात्रा तय गरेको आर्मीले अघिल्ला दुईवटा मुख्य राष्ट्रिय प्रतियोगिताहरूको उपाधिबाट चुक्नु पर्दाको पीडा कोशी प्रदेश ट्रफी उचालेर भुलेको छ ।

आर्मीले यस सिजनमा प्रधानमन्त्री कप र केपी आली कपको फाइनल खेलिसकेको छ । तर दुवै प्रतियोगिताको ट्रफीबाट उ विमुख बनेको थियो । आर्मी प्रधानमन्त्री कपमा पुलिससँग र केपी ओली कपमा मधेश प्रदेशसँग स्तब्ध बन्नु परेको थियो ।

View : 300

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved