विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रहने राजनीतिक नेता मध्येमा पर्छन् । विभिन्न चाडपर्वको शुभकामनादेखि बधाई दिने, पार्टीका नेताहरूको स्टाटस सेयर गरेर मुख्यमन्त्री कार्की फेसबुकमा समय दिइरहन्छन् ।
बेलाबेला अरुका स्टाटसमा पनि कमेन्ट गरेर बहसमा उत्रिने गरेका उनी मंगलबार माओवादीका एक जना नेतासँग नमिठो भाषामै भिडेका छन् ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङसँग फेसबुकमा मुख्यमन्त्री भिड्ने विषय थियो, राष्ट्रिय महिला फुटबल टोलीबारे नेम्वाङले गरेको टिप्पणी ।
माओवादी कोशी अध्यक्षले फेसबुकमा लेखेका थिए ‘नेपाली महिला फुटबल प्रशिक्षक पेट्रिक डे वाइल्डले नेपाली महिला फुटबल टिम हार्नुमा केपी ओलीको भिडियो कन्फरेन्स पनि कारकको रूपमा बताएका रछन् । साथीहरूले भनेको पनौतीको कारण बल्ल बुझिँदैछ ।’
माओवादी प्रदेश अध्यक्ष नेम्वाङले यो स्टाटस लेख्नुको कारण मंगलबार कान्तिपुर दैनिकमा प्रकाशित महिला टिमका मुख्य प्रशिक्षक वाइल्डको अन्तरवार्ता हो भन्ने सजिलै बुझिन्थ्यो ।
उक्त अन्तरवार्तामा मुख्य प्रशिक्षक वाइल्डले एन्फामा अनावश्यक राजनीतिले फुटबलको अवस्था दयनीय भएको मात्रै बताएका थिएनन्, उज्वेकिस्तानसँगको फाइनलअघि प्रधानमन्त्रीले गरेको भिडियो कन्फरेन्सले खेलाडीलाई दबाबमा पारेको पनि बताएका थिए ।
‘यसपल्टको टाइब्रेकरमै पनि केही तीन–चार खेलाडी पेनाल्टी प्रहार गर्न नै तयार थिएनन् । किन त ? दबाबकै कारण ’, उनले अन्तरवार्तामा भनेका छन् ‘बिहान ११ बजे नै प्रधानमन्त्रीसहित व्यक्तिहरूसँगको भिडियो कन्फ्रेन्स थियो । यसले खेलाडीलाई अत्यधिक दबाबमा राख्यो ।
मैले उज्वेकिस्तानी अफिसियललाई सोधेको थिएँ, के तिमीहरूलाई पनि आफ्नो देशका राष्ट्रपतिले फोन गरे ? उत्तर रह्यो, थिएन । रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले प्रेसमिट राख्छन् त ? राख्दैनन् ।
यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन । यो अरूको फाइदाका लागि भएको थियो । नेपालले पहिलो खेल जित्दा त्यस्तै बधाई सन्देश किन आएन ? किन कसैले सानै पुरस्कार पनि घोषणा गरेन ? तर सबैले महत्वको खेल अगाडिको क्षण नै कुरिरहे । गेम हारेपछि भने कसैले त्यसरी नै फोन गर्यो त ?’
विश्व फुटबलमा नाम कमाएका प्रशिक्षक वाइल्डले नेपाली फुटबल कसरी राजनीतिको शिकार भइरहेको छ भन्ने विषय उक्त अन्तरवार्तामा उल्लेख गरेका छन् ।
प्रशिक्षकको त्यही भनाइलाई आधार मान्दै नेम्वाङले फेसबुकमा अपूर्ण भाषामा प्रधानमन्त्री ओलीतिर दोष देखिने गरी लेखेका थिए । उनले सन्दर्भ स्रोत पनि खुलाएका थिएनन् ।
मुख्यमन्त्री कार्कीले पनि यो सन्दर्भ बुझ्ने कोसिस नै नगरी नेम्वाङलाई सिधै ‘स्वास्थ्यलाभ’ को कामना गर्दै कमेन्ट गरिदिए । मुख्यमन्त्रीले नेम्वाङको स्टाटसमा कमेन्ट गर्दै लेखे ‘अलि स्तर मेन्टेन गरेर लेख्नुस् न यार । तपाई जस्तो स्टाटसमा भएको मान्छेले यस्तो लेख्न मिल्छ ? मलाई त तपाईको यो स्टाटस आफै लेख्नुभएको जस्तो लागेको छैन । यदि लेख्नुभएको हो भने तपाईको सोच, चिन्तन र क्षमता दुःख लाग्यो । तपाईको सुस्वास्थको कामना गर्दछु ।’
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीविरुद्ध आउने अभिव्यक्तिको प्रतिवाद गरिहाल्ने बानी परेका मुख्यमन्त्रीले सन्दर्भ नबुझी कमेन्ट गरेको नेम्वाङको प्रत्युत्तरले खुलाउँछ ।
उनले ‘ओ हो धन्यवाद छ मुख्यमन्त्रीज्यू प्रतिक्रियाका लागि’ भन्दै लेखेका छन् ‘मैले त कान्तिपुरमा प्रशिक्षकले दिएको अन्तवार्ताको विषय उठाएको हो । त्यो पहिला पढ्न आग्रह गर्दछु । साना कुरामा गरिने स्टन्टबाजी र हाम्रो व्यबहारले खेलाडीहरूमा कतिको दबाब सिर्जना गर्दोरहेछ भन्ने कुरा प्रष्ट हुन्छ । अरू बेला खेल क्षेत्रमा केही लगानी नगर्ने स्टण्ट गर्न मात्र अघि सर्ने प्रवृत्ति प्रति ओहदामा पुगेका नेताहरूले समीक्षा गर्नुपर्छ र सुधार पनि गर्नुपर्ने देखिन्छ ।’
नेम्वाङले अन्त्यमा भनेका छन् ‘अब रह्यो तपाईको कमेन्टको । तपाईको कमेन्टले चाहिँ मुख्यमन्त्रीकै स्तर मेन्टेन गर्यो त मुख्यमन्त्रीज्यू ? तपाईको पार्र्टी सदस्यले गरिराखेको कमेन्टभन्दा तल्लो स्तरको देख्छु त तपाईको कमेन्ट । त्यसकारण तपाईले पनि स्तर मेन्टेन गर्नोस् मुख्यमन्त्रीज्यू, मलाई पनि दया लाग्यो हजुरप्रति ।’ त्यसपछि मुख्यमन्त्रीले अरु जवाफ फर्काएका छैनन् ।
View : 630
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved