काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन बुधबार सेयर बजार कारोबारले कीर्तिमान बनाएको छ। नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ भने कारोबार रकममा पनि उच्च वृद्धि छ।
नेप्से ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा बजार बन्द हुँदा १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
साउनका लागि बैंकहरुले कर्जाको ब्याजदर घटाएको सूचना जारी गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।
१३ मध्ये व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सर्वाधिक ३.८६ प्रतिशतले बढेको छ ।
लघुवित्त र निर्जीवन बीमा १.८५, वाणिज्य बैंक १.५९, म्युचुअल फण्ड १.५८, उतपादन तथा प्रशोधन १.३९ र जलविद्युत समूह १.२८ प्रतिशतले बढेको छ ।
५५ कम्पनीको सेयरमूल्य घट्दा माई खोला हाइड्रोपावरका लगानीकर्ता बढी नोक्सानमा रहे। उक्त कम्पनीको सेयरमूल्य ७.८७ प्रतिशतले घटेको छ। १९३ कम्पनीको सेयरमूल्य बढेको छ । बढेकामध्ये कुमारी बैंकको ऋणपत्र २०९० र थ्री स्टार हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट नै लागेको छ । यस्तै ग्रीन डेभलपमेन्ट बैंक ८.४१ प्रतिशतले बढेको छ ।
उच्च कारोबार हुने कम्पनीमध्ये बुटवल पावर बुधबार पनि पहिलो नम्बरमा रह्यो। उक्त कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै राधी विद्युतको ५६ करोड ६९ लाख, सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख, लुम्बिनी विकास बैंक ३४ करोड २५ लाख र साहस ऊर्जाको ३३ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा पुग्दा ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 275
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved