Biratnagar, Morang, Nepal
१० असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

चौदण्डीगढीले कृषकलाई विद्युत् मिटरको भ्याट व्यहोरी दिने

उद्‌घोष संवाददाता
१० असार २०८३, बुधवार

Advertisement

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले कृषकले जडान गर्ने विद्युत् मिटरमा लाग्ने अतिरिक्त ५ प्रतिशत भ्याट व्यहोर्ने गरी आगामी आर्थिक बर्ष २०८३–८४ को बजेट सार्वजनिक गरेको छ ।

मंगलबार सम्पन्न २०औं नगरसभामा उपप्रमुख मणिकादेवी दुलालले १ अर्ब ३७ करोड ९ लाख ५ हजार २१२ रुपैयाँको बार्षिक बजेट अनुमान नगरसभामा प्रस्तुत गर्दै किसानका लागि यस्तो सुविधाको घोषणा गरिन् । 

कुल विनियोजन मध्ये चालुतर्फ ९१ करोड ८५ लाख र पूँजीगततर्फ ४५ करोड २४ लाख ५ हजार २१२ रुपैयाँ छ ।

उनले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको बताइन् । नगरप्रमुख कालुमान लामाको अध्यक्षतामा सम्पन्न नगरसभाले चौदण्डीगढीलाई उत्पादनमुखी, पूर्वाधारमैत्री तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न योजना सार्वजनिक गरिएको हो । 

बजेटमार्फत कृषि हाटबजार पूर्वाधार निर्माण, खरबुजा खेती प्रवद्र्धन, धान तथा गहु“को बीउमा अनुदान, प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रम, कृषि मोटर, टनेल तथा च्यापकटर अनुदान वितरणका कार्यक्रम समेटिएका छन् । 

पूर्वाधार विकासतर्फ संघीय र प्रदेश सरकारमार्फत नसमेटिएका सडकहरूलाई नगरकै बहुवर्षीय योजनाअन्तरगत कालोपत्रे गरिने जनाइएको छ ।

प्रत्येक वडामा १५ किलोमिटरका दरले कुल १५० किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य बजेटमार्फत गरिएको छ ।

१५ शय्याको चौदण्डीगढी आधारभूत नगर अस्पताल आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने, सुन्दरपुर स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गर्ने, मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर तथा मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपचार सहायता जस्ता कार्यक्रम पनि नगरको बजेटमा समावेश छ ।

युवालाई सीप र रोजगारीसँग जोड्न सीप सम्मेलन, पर्यटन प्रवद्र्धनका लागि रैथाने खाना महोत्सव, बेल्हामा थारु होमस्टे सञ्चालन, बेलबोटे–गढी दरबार पदमार्ग निर्माण तथा चौदण्डीगढी दरबारस्थित यलम्बर पार्कमा किराँत राजा यलम्बरको प्रतिमा निर्माण गर्ने योजना अघि सारिएको छ ।

नगरप्रमुख लामाले बेरुजु न्यूनीकरणलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै हाल देखिएको बेरुजु तत्कालीन गाविस संरचनाको समयदेखिको भएको बताए ।

View : 26

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved