Biratnagar, Morang, Nepal
३० जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरमा कोशी युवा सम्मेलन

उद्‌घोष संवाददाता
२९ जेठ २०८३, शुक्रवार

Advertisement

विराटनगर । कोशी प्रदेश युवा सम्मेलन बिहीबार विराटनगरमा सुरु भएको छ । 

‘डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि युवाहरूको साझा सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको दुई दिने कोशी सम्मेलनमा प्रदेशभरीका सबै जिल्लाका युवाको प्रतिनिधिमूलक सहभागिता छ ।

गैरसरकारी संस्था महासंघ कोशी र युथ इनिसिएटिभको संयुक्त आयोजनामा भएको युवा सम्मेलन युवाहरूमा डिजिटल साक्षरता, नागरिक सहभागिता, नेतृत्व विकास, नवप्रवर्तन तथा डिजिटल नागरिक क्षेत्रको सुदृढीकरणका विषयमा सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको गैसस महासंघ कोशीका अध्यक्ष सोमराज ढकालले जानकारी दिए ।

सम्मेलनको उद्घाटन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गरेका थिए । 

कार्यक्रममा प्रदेश सरकार भौतिक पूर्वाधार पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ, कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, गैर सरकारी संस्था महासंघ केन्द्रीय उप–महासचिव किरण थापा, युवा अभियानका महासचिव सुस्मिता यादव लगायतको उपस्थिति थियो । 

‘युथ समिट २०२६’ मा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका युवा सामाजिक अभियन्ताहरू, नीति निर्माता तथा सरोकारवालाहरूको सहभागिता छ । 

गैरसरकारी संस्था महासंघ नेपाल, युवा अभियान नेपाल तथा सिभिक्सको सहकार्य एवं युरोपेली संघको आर्थिक सहयोगमा आयोजितसम्मेलनले युवाहरूलाई आफ्नो अनुभव आदान–प्रदान गर्ने, नयाँ विचार प्रस्तुत गर्ने तथा डिजिटल युगका अवसर र चुनौतीबारे छलफल गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने अपेक्षा गरिएको अध्यक्ष ढकालले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री महतोले राष्ट्र निर्माण, सुशासन प्रवद्र्धन र डिजिटल रूपान्तरणमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै युवाहरूलाई सिर्जनशील, जिम्मेवार र नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गरेका थिए । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न विषयगत प्रस्तुति, अन्तरक्रिया, समूह छलफल तथा अनुभव आदान–प्रदानका कार्यक्रमहरू समावेश गरिएका छन् । 

युवाको नेतृत्व, डिजिटल अधिकार, नागरिक सहभागिता तथा सामाजिक रूपान्तरणका क्षेत्रमा नयाँ सोच र सम्भावनाहरूको खोजी गर्ने उद्देश्यसहित सम्मेलन सञ्चालन भइरहेको अध्यक्ष ढकालको भनाइ छ ।

View : 121

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved