जेनजी प्रदर्शनको प्रभाव
विराटनगर । जेनजी प्रदर्शनको प्रत्यक्ष असर विराटनगर विमानस्थलमा देखिएको छ । विमानस्थलले अब सवै यात्रुलाई बराबर सुविधा हुने गरी भीआईपी कक्ष बन्द गरिदिएको छ ।
विशिष्ट व्यक्तिका नाममा भीआईपी कक्षमा भिडभाड लाग्ने गर्दा विमानस्थलको सुरक्षामै चुनौति भएको विमानस्थल प्रशासनले जनाउँदै आएको थियो ।
विशेषगरी राजनीतिक दलका नेताहरू भीआईपी कक्षमा आइपुग्ने र उनीहरूका समर्थकहरू पनि नाराबाजी गर्दै भीआईपी कक्षमा प्रवेश गरी होहल्ला गर्दै आएका थिए ।
राजनीतिक दलका नेताहरू भीआईपीका रुपमा स्वघोषित हुँदै सोही कक्षबाट छिरेर जहाज चढ्ने र फर्किने गर्दै आएका थिए । तर, सर्वसाधारण यात्रु भने सामान्य यात्रु कक्षबाटै ओहोर–दोहोर गर्ने र आफ्नो ‘लगेज’ पर्खिएर लिन बाध्य थिए ।
नेपाल नागरिक उड्ययन कार्यालय विराटनगर विमानस्थल प्रशासनले अब भीआईपी कक्षबाट हुने प्रवेशलाई बन्द गरिदिएको छ ।
विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीले विमानस्थलमा रहेको भीआईपी कक्षको प्रयोग सम्बन्धी नियमै बनाइएपनि त्यसको कार्यान्वयन हुन नसकिरहेको अवस्थामा जेनजी प्रदर्शनपछि विमानस्थल प्रशासनले भीआईपी कक्षको अनावश्यक प्रयोगलाई रोकेको जानकारी दिए । भीआईपी कक्ष बन्द भएपछि अब सवैले सर्वसाधारण यात्रु सरह यात्रा गर्नुपर्ने भण्डारीले बताए ।
‘एक जना व्यक्तिलाई लिन दुई तीन सय मान्छे आउने गरेका थिए, जसका कारण विमानस्थलमा कोलाहल हुने गरेको थियो, जुन कुरा सुरक्षाका दृष्टि पनि अनुपयुक्त थियो’ उनले भने, ‘जेनजी आन्दोलनपछि राजनीतिक दलप्रति धेरै नकारात्मक धारणा बनेको देखियो, त्यसैका कारण अहिले विराटनगर विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले केही दिनअघि मात्रै भीआईपी कक्षको प्रयोगलाई कडाई गरी बन्द गर्न पत्राचार गरेका कारण विराटनगर विमानस्थल प्रशासनले पनि बन्द गरेको हो । विराटनगर विमानस्थलबाट देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा उडान हुँदै आएको थियो ।
‘हामीलाई माथिबाटै यही अनुसारको सर्कुलर पनि भएका कारणले भीआईपी कक्ष बन्द गरिएको हो’ सूचना अधिकारी भण्डारीले भने, ‘अहिले सवैजनाले सर्वसाधारण यात्रु सरह नै यात्रा गरिरहनु भएको पाएका छौं, सवैले सहज अवस्था महसुस गर्नु भएको छ ।’
View : 352
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved