विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विराटनगरको बाल कल्याण विद्या मन्दिर (बीकेभीएम) ले मोरङ जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरेको छ ।
जिल्ला शिक्षा समन्वय इकाइ विराटनगरका अनुसार, शुक्रबार राति प्रकाशित नतिजा अनुसार बीकेभीएमका ६ जना विद्यार्थीले ४.० जीपीए ल्याउन सफल भएका छन्, जुन मोरङ जिल्लाका विद्यालयहरू मध्ये सबैभन्दा बढी हो ।
बीकेभीएमको अब्बल प्रदर्शन
विद्यालयबाट एसईई परीक्षा दिएका कुल २७१ जना विद्यार्थीमध्ये २१४ जनाले ३.६१ देखि ४.० जीपीए ल्याएर असाधारण सफलता हात पारेका छन् । त्यस्तै, ५३ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए हासिल गरेका छन् ।
४.० जीपीए ल्याउने ६ जना विद्यार्थीहरूमा अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिक कुमार पोद्दार, प्रीन्सा साह र स्नेहलराज साह छन् । यस उत्कृष्ट नतिजाबाट उत्साहित विद्यालयले शनिबार एक कार्यक्रम आयोजना गरी सफल विद्यार्थीहरूलाई सम्मान समेत गरेको छ ।
विद्यालयका प्राचार्य रविनकुमार दाहालले विद्यार्थीको लगन र मेहनतको परिणामस्वरुप यो नतिजा सम्भव भएको बताएका छन् । उनले भने, "हामीले विद्यार्थीलाई असल र व्यवहारिक शिक्षा प्रदान गरेका छौं । विद्यार्थीको अथक मेहनत, अध्ययनप्रतिको लगाव र समर्पणले नै यस्तो राम्रो नतिजा दिलाएको हो ।"
प्राचार्य दाहालले यो नतिजा अन्तिम खुड्किलो नभई भविष्यका लागि एउटा आधार मात्रै भएको बताउँदै विद्यार्थीहरूलाई अझ ठूला लक्ष्यहरू प्राप्त गर्न प्रोत्साहन गरे ।
"हामीले उनीहरूको भविष्य निर्माणका लागि आवश्यक वातावरण तयार गरिदिएका छौं,र यो नतिजाबाट हामी अत्यन्तै खुसी छौं," उनले थपे ।
View : 2357
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved