Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कमाउ धन्दामा ट्राफिक प्रहरी

उद्‌घोष संवाददाता
८ पुष २०८२, मङ्गलवार

आइतबार इटहरीमा ट्राफिकलाई निर्देशन दिंदै डीआईजी घिमिरे ।

विराटनगर । जेनजी आन्दोलनपछि केही समय संयमित देखिएको ट्राफिक प्रहरी राजश्व र गैर राजश्व संकलनमा फेरि पुरानै शैलीमा फर्किएको छ । यसको उदाहरण कोशी प्रदेश भित्रका बिभिन्न ट्राफिक पोष्टहरूमा देख्न सकिन्छ ।

भदौ २४ पछि गएको तिहारसम्म ट्राफिकले जाँच तथा कारवाही गरेन । त्यसपछि बिस्तारै गतिमा फर्किएको ट्राफिक नियमित कामसँगै कमाउ धन्दामा पनि लागेको पाइएको छ । ट्राफिकले खासगरी भारतीय गाडी, मालबाहक ट्रक, ट्याक्टर र ट्रिपरलाई लक्षित गरेर उनीहरूबाट राजश्व र गैर राजश्व संकलन गर्दै आएको ब्यवसायीहरूको गुनासो छ ।

राजश्व सरकारको खातामा जाने भएपनि गोजीमा हालिएको रकम सडकमा ड्युटी गर्ने ट्राफिक र तिनका हाकिमहरूलाई जाने गरेको छ । पोष्टको प्रमुख भएर जान आन्दोलन पहिले जस्तै बोलकबोल हुन थालेको ट्राफिक स्रोत बताउँछ । बोलेको रकम मासिक रूपमा हाकिमलाई बुझाउन नसक्ने पोष्ट प्रमुखलाई हटाएर नयाँलाई सो ठाउँमा पठाउने गरिएको छ ।

 कोशी प्रदेशमै सबैभन्दा बढी राजश्व संकलन गर्ने र सोही अनुपातमा ब्यक्तिगत रकम संंकलन गर्ने विराटनगर भन्सार र काँकडभिट्टा भन्सारको ट्राफिक पोष्ट पर्छन् । त्यसपछि मोरङका नेमुवा, रंगेली, उर्लाबारी, पथरी सुनसरीको कोशी कटान, धरान, दुहबी झापाको दमक, चारआलीलगायत पोष्टहरू राजश्वसँगै बढी रकम असुली गर्दै आएको सवारी चालकहरूको दाबी छ ।

सवारी चालक रूपेन्द्रकुमार केसीले झण्डै तीन महिना सडकमा अतिरिक्त रकम तिर्नु नपरे पनि अहिले कमजोरी नै नभए पनि कारवाहीको बहाना बनाउने र कम रकममा सहमति गर्नुपर्ने बाध्यता रहेको बताए ।  जेनजी आन्दोलनको उत्कर्षमा ट्राफिक प्रहरीको व्यवहार, अनावश्यक जरिवाना र दुव्र्यवहार सार्वजनिक बहसको विषय बनेको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयकै  निर्देशनमा ट्राफिक जाँच केही समय खुकुलो बनाइएको थियो । चालकहरूका अनुसार अहिले सवारी नियमको नाममा स–साना त्रुटि देखाएर जरिवाना तिराउने, कागजातको बहानामा अनावश्यक हैरानी दिने र मिलाउने संकेत दिने प्रवृत्ति बढेको छ । यातायात व्यवसायीहरू पनि ट्राफिकको व्यवहारप्रति असन्तुष्ट देखिन्छन् ।

‘गाडीका कागजात भए पनि ट्राफिकले रोक्यो भनेर दैनिक १० जना ब्यवसायीको गुनासो आउँछ’ पूर्व नेपाल यातायात कम्पनीका एक पदाधिकारीले भने–‘बिरोध गरौं भने झन् दुःख देलान्, नियम पालना गराउनु गलत होइन, तर डर र दबाब सिर्जना गरेर कमाइको माध्यम बनाउनु गलत हो ।’

ट्राफिक प्रहरी पनि आरोप केही हदसम्म स्वीकार गर्दै सडक दुर्घटना न्यूनीकरण र नियम कार्यान्वयन गरेको दाबी गर्छन् । एक ट्राफिक पोष्टका इञ्चार्ज तथा कनिष्ट प्रहरी अधिकृतले बाध्यताले डराइ–डराइ कमाइ र हाकिम रिझाउन रकम लिनुपरेको बताए । यसैबीच कोशी प्रदेशमा प्रहरी प्रमुख भएर आएका डीआईजी बिनोद घिमिरे ट्राफिक प्रहरीको निगरानीमा कडाइका साथ लागेका छन् ।

उनले आचरण बिपरित कार्य गर्ने दुई जना ट्राफिक प्रहरीलाई ट्राफिक सेवाबाट हटाएर कारवाही गरेको बताए । आइतबार मात्रै प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमा उनले मोरङ र सुनसरीमा कार्यरत ट्राफिक प्रहरीका इकाईं प्रमुखहरूलाई सेवाको भावमा काम गर्न निर्देशन दिए ।

‘ट्राफिकका गुनासो धेरै छन्, हामी कारवाही गर्दै जान्छौं, यो, उ भन्ने कुरै छैन कारवाही हुन्छ’ उनले भने ।

गत वर्ष नेपाल प्रहरीमा महानिरीक्षकको जिम्मेवारी पाउने बित्तिकै वसन्त कुँवरले ट्राफिक प्रहरीमा १० वर्ष लगातार रहेकालाई हटाउने नीति ल्याउने प्रयास थाल पनि उनको कार्यकाल त्यसै बितेको थियो । ट्राफिकमै २९ वर्ष बिताएका प्रहरी हाल पनि कार्यरत छन् ।

लामो अवधि ट्राफिकमा काम गरेका प्रहरी र उनीहरूसँगै सेवा प्रवेश गरेर जनपद प्रहरीमा काम गरेका सुरक्षाकर्मी बीचको आर्थिक हैसियत फरक–फरक  देखिने गरेको बताइन्छ ।

View : 207

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved