Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

सुनसरीका डीएसपी भण्डारी र प्रहरी निरीक्षक लिम्बू बने चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी

उद्घोष सम्वाददाता
८ वैशाख २०८१, शनिवार

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारी र जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी निरीक्षक विशाल लिम्बू गत चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मूल्यमान्यता, आदेश पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै उनीहरूलाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । 

प्रहरी नायब उपरीक्षक भण्डारीले सुनसरी हरिनगर गाउँपालिका–२ का आशिफ अन्सारीको पैसा भएको झोला अपरिचित व्यक्तिहरूले लिई भागेको घटनाको अनुसन्धानको क्रममा मो.इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गर्न महत्वपूर्ण निर्वाह गरेका थिए ।

त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका–३ मा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादलाई प्रहरी जनशक्तिको प्रभावकारी परिचालन गरी जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र १२ वर्षे तेश्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको सुरक्षार्थ प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेका कारण कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै उनलाई सर्वोत्कृष्ट घोषणा गरिएको जनाइएको छ ।

प्रहरी निरीक्षक विशाल लिम्बुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुरको अरुण गाउँपालिका–४ का सौरभ तामाङलाई झापा जिल्लाको काँकडभिट्टाबाट पक्राउ गर्न सफल भएको, आमचोक गाउँपालिका–७ मान्द्रेभिरबाट हस्त बहादुर मगर लडी मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा संलग्न पदम बहादुर मगरलाई भरुवा बन्दुक थान–२ सहित पक्राउ गरेको भन्दै सर्वोत्कृष्ट घोषित गरिएको जनाइएको छ ।

प्रहरी निरीक्षक लिम्बुले भोजपुर नगरपालिका–५ का चन लामा भन्ने छिरिङ ग्याम्बोलाई मोटरसाइकल चोरी भएको घटनामा अनुसन्धानको क्रममा पक्राउ गर्न सफल भएको जनाइएको छ । 
तिनै कार्यहरूको मूल्याकंन गर्दै २०८० चैत्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ अर्थात पुलिस अफ मन्थ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ ।

View : 35

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved