विराटनगर । विराटनगरको बरगाछी चोकदेखि रानीसम्मको ६ लेन सडक सौन्दर्यीकरणका लागि कुमारी बैंक विराटनगरले दुई लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
महानगरपालिकाले ६ लेन सडकको मेडियम (डिभाइडर) मा हरियालीसहितको सौन्दर्यीकरण गर्ने योजना अघि बढाउँदै विभिन्न क्षेत्रसँग त्यसका लागि सहायता माग गरेको थियो ।
महानगरपालिकाको आग्रह अनुसार बैंकको क्षेत्रीय कार्यालयका प्रमुख मनिष श्रेष्ठले महानगरपालिकाका मेयर नागेश कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।
महानगरपालिकाले डिभाइडर सौन्दर्यीकरणका लागि आर्थिक स्रोत जुटाउन महानगरभित्रका बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायीहरूलाई आग्रह गरेको थियो । डिभाइडर सौन्दर्यीकरणका लागि महानगरपलिकाले ५५ लाख ७१ हजार ४७६ रुपैयाँको लागत इष्टमेट तयार पारेको जनाइएको छ ।
स्रोत जुटाउनका लागि उद्योगी एवं समाजसेवी बेनी गोपाल मुन्दडाको संयोजकत्वमा ९ सदस्यीय बरगाछी–रानी डिभाइडर सौन्दर्यीकरण समिति समेत गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरको सडक क्षेत्रलाई सफा, सुन्दर तथा व्यवस्थित बनाउने अभियानको कार्यन्वयनका लागि सडक सौन्दर्यीकरणको योजना अघि बढाइएको हो । उक्त अभियानमा यसअघि चार वटा बैंकहरूले ७ लाख ५० हजार रकम प्रदान गरेका थिए ।
बैङ्कर्स एसोसिएसन कोशी प्रदेशकै तर्फबाट यसअघि मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई उक्त रकम उल्लेखित चेक हस्तान्तरण गरिएको थियो ।
बरगाछीदेखि रानीसम्मको पाँच किलोमिटर सडक खण्डभित्र रहेका ४६ वटा डिभाइडर खण्डमा सौन्दर्यीकरण गरिने महानगरपालिकाले जनाएको छ ।
View : 283
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved