विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित कृषि थोक बजार केन्द्रमा बिहीबारदेखि सुरू भएको कोशी प्रदेशकै पहिलो कृषि एक्स्पो २०८१ मा अवलोकनकर्ताहरूको उत्साहपूर्ण उपस्थितिले एक्स्पो सफल बनेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले जनाएको छ ।
हरेक स्टलमा अवलोकनकर्ताहरू पुगेर कृषि प्रविधि, उत्पादन र बजारिकरणका क्षेत्रबारे जानकारी प्राप्त गरेका छन् । पहिलो कृषि एक्स्पोलाई कृषि क्षेत्रका सरोकारवाला र अवलोकनकर्ताहरूले भव्य उत्सवका रूपमा लिएका छन् ।
महासंघ कोशी प्रदेश समितिको आयोजनामा पहिलो पटक कृषि क्षेत्रको विकास र रूपान्तरणको सम्भावनालाई बाटो देखाउने उद्देश्यले यो एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा १३० वटा स्टलहरू छन् । जहाँ नेपालसहित भारतको विहार राज्यमा भइरहेको कृषि क्षेत्रको विकास र प्रविधिको प्रयोगको अवस्थाबारे एक्स्पोमा प्रदर्शनी गरिएका छन् ।
एक्स्पोको औपचारिक समापन आइतबार हुँदैछ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङ्गामको मुख्य आतिथ्यतामा आज अपरान्ह ४ बजे एक्स्पो समापन कार्यक्रम राखिएको महासंघका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । राउतले उत्साहपूर्ण रूपमा एक्स्पो सम्पन्न हुन लागेको बताए । उनले जुन उद्देश्यले एक्स्पो आयोजना गरिएको हो, त्यो पूरा भएको दाबी गरे ।
एक्स्पाले कोशी प्रदेशमा पहिलोपटक विविध उत्पादन र आधुनिक प्रविधिको प्रयोगलाई अघि बढाउन बाटो देखाएको उनले बताएका छन् । त्यसको बलियो आधारका रूपमा हरेक स्टलमा अवलोकनकर्ताहरूको उपस्थितिले पुष्टि गर्ने उनले बताए ।
एक्स्पोका अघिकांश स्टलहरूमा राखिएका कृषि उत्पादन र यन्त्र उपकरणहरू प्रदर्शनीका लागि मात्रै रहेका छन् । कृषि यन्त्र र उपकरणसँग सम्बन्धित केही स्टलहरूले मात्रै आफ्ना वस्तु तथा सामग्री बिक्री वितरण गरेका छन् ।
चर्को घाम र गर्मीमा पनि अवलोकनकर्ताहरू स्टलमा पुगेका हुन् । उनीहरूले कृषि वस्तु र प्रविधिको अवलोकन गर्दै त्यसबारे जानकारी आदान–प्रदान गरेका छन् ।
महासंघले कृषि क्षेत्रका जल्दाबल्दा सवाललाई उजागर गर्न एक्स्पो स्थलमै हरेक दिन प्यानल छलफल, कृषि बैज्ञानिकहरूको प्रस्तुतिकरण र बहस समेत आयोजना गरेको छ । छलफलमा कोशी प्रदेशमा कृषि क्षेत्रको व्यावसायिकताका लागि निजी क्षेत्रको लगानी प्रवर्द्धन र सरकारी सहयोगका क्षेत्रबारे छलफल गरिएको हो । प्यानल छलफलमा अर्ग्यानिक उत्पादन, आधुनिक खेती प्रणाली, प्रविधि र उन्नत बीउको प्रयोगका सम्भावनाबारे वक्ताहरूले जानकारी गराएका छन् ।
बहसमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कृषिको व्यवसायिकरण लामो समयदेखि चल्ने गरे पनि उपलब्धि भने आयातमुखी अवस्थामा रहेको बताएका छन् । उनले साना जमिनमा कृषिबाली लगाउने किसानले उत्पादन गरेको वस्तुलाई ठूला कृषि उद्योग सञ्चालन गरी प्रशोधन गरी निर्यात गर्न सकिने सम्भावनालाई एक्स्पोले बहस थालनी गरिदिएको बताए ।
मन्त्री मगरले उद्योगीले धेरै जग्गा खरिद गरेर कृषिजन्य उद्यम सञ्चालन गर्न कठिन हुने भएकोले साना किसानले कृषि वस्तु उत्पादन गर्ने र उद्योगले खरिद गर्ने तरिकाबाट कोशी प्रदेशको कृषि क्षेत्रलाई रूपान्तरणकारी अवस्थामा पुर्याउन सकिने बताएका छन् ।
View : 345
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved