विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र समृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताएका छन् ।
पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आइतबार विराटनगरमा शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको कायापलट गर्न सकिने बताए । प्रदेशको सामथ्र्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उनले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नु पर्नेमा जोड दिए । अब वार्ता र संवादबाट सबै कुरा हल गर्दै पर्यटन प्रर्वद्धनमा लागौं ।’
सो कार्यक्रममा स्वीस सरकारकी राजदूत डा. डेनियल म्युउल्यीले पदमार्गमार्फत आर्थिक उन्नति, रोजगारी र अन्य अवसरहरूको खोजी हुने बताइन् । उनले संघीयतालाई बलियो बनाउनका लागि स्वीस सरकारले नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढेको बताइन् ।
कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई ध्यानमा राखेर स्वीस सरकारको सहयोगमा २०८५ साल साउन महिनासम्ममा परियोजना सक्ने गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको जनाइएको छ ।
त्यसका लागि स्वीस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहने जनाइएको छ ।
परियोजना अन्तरगत चियाबारी पदमार्ग (इलाम, फिक्कल, श्रीअन्तु), फाल्गुनन्द पदमार्ग (फिदिम, छिन्ताप्पु, सन्दकपुर, माइपोखरी, इलाम), लालीगुराँस पदमार्ग (तुम्लिङटार, खा“दबारी, नुमगुफा पोखरी, बसन्तपुर, जलजले, तीनजुरे, मिल्के) र मुन्धुम पदमार्ग (तावाभञ्ज्याङ, ट्याम्केडाँडा, चखेवा, डालसिंगे, धोत्रे, जलजले, हाँसपोखरी, मयुङडाँडा) छन् ।
पदमार्ग परियोजनाले कोशी प्रदेशको समृद्धि र विकासका लागि सहयोग पुग्ने जनाइएको छ । कार्यक्रमका कोशी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डलले परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण उपलब्धि प्राप्त हुने बताए ।
स्वीस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ ।
View : 96
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved