Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

फेरि ‘मध्यमार्ग’ मा अल्झिए डा शेखर

उद्‌घोष संवाददाता
५ माघ २०८२, सोमवार

विराटनगर । शनिबार साँझतिर पत्रकार अनिल गिरीले आफ्नो फेसबुकमा एउटा रमाइलो स्टाटस लेखे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई ‘उडाएर’ लेखिएको उनको स्टाटास यस्तो थियो– ‘देउवा पक्षीय नेताहरू भोलि सर्वोच्च अदालत जाने । मध्यमार्गी  भएकाले डा. शेखर चाहिं थापाथली चोकसम्म मात्र जाने ।’

नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुग्दा ढुलमुले नीति लिएको भन्दै शेखरको सार्वजनिक वृत्तमा यसरी नै आलोचना भइरहेको छ । 

खासगरी विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएकै समितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि शेखर पूर्व सभापति शेरबहादुर देउवा कित्तामा उभिएको भन्दै आलोचना भयो । 

त्यसपछि उनी देउवा समूहले बोलाएको बैठकमा नजाने भनेर बसे । अब के गर्ने भन्ने बारे निर्णय लिन शेखरले आइतबार काठमाडौंमा आफ्नो टिमको भेला बोलाएका थिए । 

तर, त्यो भेलामा अरु सबैले प्रष्ट रुपमा सभापति गगन थापालाई साथ दिएर जानुपर्ने बताए पनि उनले भने फेरि पनि ढुलमुले कुरा गरेर अनिर्णयमै भेला टुंग्याएका छन् । 

त्यसका लागि कोइरालाले आफू मध्यमार्गी भएकाले यस्तो लाइन लिएको दाबी गरे । उनले भने ‘मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिंडिरहेको छु । यसबाट विचलित हुन्न ।’

कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने बताए । कठिन अवस्थामा मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनु पर्नेमा जोड दिएका थिए । 

भेलामा सहभागी अधिकांश नेताहरूले भने कांग्रेसलाई एकताबद्ध बनाएर चुनावमा होमिनुपर्ने बताएका थिए । निर्वाचनको मुखमा विवाद बढाउनु भन्दा कांग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

दोस्रो विशेष महाधिवेशनमार्फत निर्वाचित सभापति गगन थापा नेतृत्वको टिमसँग मिलेर अघि बढ्नुको विकल्प नभएको शेखर पक्षका नेताहरूले बताएको भेलामा सहभागी नेताहरूले जानकारी दिएका छन् । 

भेलामा आफ्ना कुरा राख्ने सबैजसो नेताहरूले पार्टी विवादलाई अड्डा अदालततिर लैजानेभन्दा मिलेर चुनावमा जानुपर्नेमा जोड दिएको भेलामा सहभागी कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाइले जानकारी दिए । 

भेलामा बोल्दै नेता शिव हुमागाईंले कांग्रेस लोकतान्त्रिक दल भएको र आपसी विवाद संवादबाट हल गर्दै चुनावमा एकताबद्ध भएर जानुपर्ने बताएका थिए ।

‘अब अड्डा अदालत गएर निर्वाचनको मुखमा विवाद बढाउनतिर जान नहुने उहाँको भनाइ थियो’ चापागाईंले भने, ‘मोरङ सभापति डिगबहादुर लिम्बू, डा सुनिल शर्मा, नेता दिनेश कोइरालालगायत सबैको एकै धारणा रह्यो ।’

View : 106

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved