ढोरपाटन, १६ भदौ । लामो समयदेखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा सडक स्तरोन्नति सुरु भएको छ ।
छब्बिस वर्ष अगाडि ट्र्याक खुलेको लोकमार्गको बिहुँ खण्डमा सडक स्तरोन्नति तथा कालोपत्रको काम सुरु भएको हो ।
बागलुङ बजारको उपल्लाचौरबाट घोडाबाँधेसम्म २५ किलोमिटर सडक कालोपत्रका लागि करिब एक दशक अगाडि सम्झौता भए पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन ।
पच्चिस किमी सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरी दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।
पहिलो खण्ड उपल्लाचौरबाट कोपिला घुम्तीसम्मको १३ किमीका लागि भारत/सिद्धिसाई जेवीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो ।
अहिलेसम्म पाँच पटक म्याद थप गर्दासमेत सात किमी सडक कालोपत्र गरेको छ ।
यस खण्ड गत आवमा नसकिएपछि निर्माण कम्पनीले आगामी पुस मसान्तसम्म सक्नेगरी म्याद थप गरेको छ ।
तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरि सम्झौता गरे पनि नौ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको थियो ।
दोस्रो खण्डमा काठेखोला गाउँपालिकाको कोपिला घुम्तीबाट घोडाबाँधेसम्म १२ किमी विसं २०७२ माघमा जिम्मा पाएको एमपी/एससीएफ/ई सिसी जेभी गत पुस महिनामा कालोसूचीमा परेको थियो ।
एमपी सितानी एण्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्राली सुकेधारा काठमाडौँले संयुक्त रुपमा ठेक्का लिएका थिए ।
निर्माण कम्पनी कालोसूचीमा परेपछि ठेक्का तोडिएको थियो । यस खण्डका लागि अर्थ मन्त्रालयले गत फागुनमा ३३ करोड स्रोत सुनिश्चित गरेको थियो ।
गत असारमा निर्माण कम्पनीसँग नयाँ ठेक्का सम्झौता गरी काम सुरु भएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वत कुश्माका सूचना अधिकारी इञ्जिनियर धीरज ढकालले जानकारी दिए ।
पहिलो खण्डमा निर्माण कम्पनीले अहिले काम गरिरहेकाले पुससम्म म्याद दिइएको भन्दै दोस्रो खण्डको कामका लागि दुई वर्षमा सक्नेगरी तामाङ/रिजाल/भगवती जेभीलाई जिम्मा दिइएको उनले बताए ।
२१ करोडमा ठेक्का लगाएको इञ्जिनियर ढकालले जानकारी दिए । पहिलो खण्डमा करिब २५ प्रतिशत काम बाँकी छ ।
नयाँ ठेक्का लगाएको दोस्रो खण्डमा २६ प्रतिशत काम बाँकी रहेको उनको भनाइ छ ।
यस खण्डको १२ किमीमध्ये छ किमी कालोपत्र भइसकेको छ ।
केही स्थानमा सडक फराकिलो बनाउने र सात किमी कालोपत्र गर्न बाँकी रहेको सूचना अधिकारी ढकालले बताए ।
“लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि दोस्रो खण्डको ठेक्का गत असारमा तोडिएको थियो, अहिले नयाँ ठेक्का आह्वान गरी सम्झौता भएर काम सुरु गरेको छ, पहिलो खण्डमा पुरानै निर्माण कम्पनीले काम गरिरहेको छ”, ढकालले भने, “सम्झौता भएको केही समयमा निर्माण कम्पनीले मेसिन फिल्डमा लगाएको छ, तल्लो खण्डमा पनि कामसक्ने चरणमा देखिन्छ ।
वर्षा रोकियो भने कालोपत्र अगाडि बढ्छ ।”
लामो समयपछि निर्माण कम्पनीले सडकमा मेसिन लगाएर काम सुरु गरेपछि स्थानीय खुसी भएका छन् ।
काठेखोला गाउँपालिका–५ का पद्मप्रसाद कँडेलले लामो समयसम्म सडक कालोपत्र नहुँदा लोकमार्ग छेउछाउँका बस्ती हिलो र धुलोले विस्थापित हुनु परेको भन्दै नयाँ ठेक्का लगाएपछि काम हुने आशा पलाएको बताए ।
अहिले दुवै खण्डमा निर्माण कम्पनीले तीव्रताका साथ काम गरिरहेका छन् । रासस
View : 234
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved