Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शुल्क निर्धारण कार्यान्वयन गर्न निजी विद्यालयलाई इटहरी उपमहानगरको अल्टिमेटम

उद्घोष सम्वाददाता
६ जेठ २०८१, आइतवार

सुनसरी । इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न निजी विद्यालयहलाई परिपत्र गरेको छ । उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी पनि दिइएको छ । उपमहानगरपालिकाले विद्यार्थीको भर्ना, मासिक पढाइ, परीक्षा लगायतको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न सात दिने समयसीमा तोकेको छ ।

शैक्षिक सत्र २०८१ का लागि नयाँ निर्धारण गरिएको मासिक शुल्कअनुसार पूर्वप्राथमिक तह(नर्सरी) को अधिकतम शुल्क तीनवटा श्रेणीमा विभाजन गरी तोकिएको छ । जसमा पहिलो श्रेणीका विद्यालयलाई दुई हजार ५ सय, दोस्रो श्रेणीकालाई एक हजार ८५० र तेस्रो श्रेणीकालाई एक हजार २५० मासिक तोकिएको छ ।

यस्तै, कक्षा १० को अधिकतम मासिक शुल्क पहिलो श्रेणीका विद्यालयलाई पाँच हजार, दोस्रो श्रेणीकाले तीन हजार ७५० र तेस्रो श्रेणीकाले एक हजार २५० रुपैयाँ तोकिएको छ । उपमहानगरपालिकाद्वारा निर्धारण गरिएको शुल्कअनुसार मासिक पढाइ शुल्क एक वर्षमा १२ महिनाको स्वीकृत मासिक शुल्क शिक्षक–कर्मचारीको तलब भत्तालाई आधार मानेर तय गरिएको परिपत्रमा उल्लेख छ । यस्तै, वार्षिक शुल्क दुई महिनाको स्वीकृत मासिक शुल्क बराबरको रकम लिन पाउने उल्लेख गरिएको छ ।

भर्ना शुल्क भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाउने गरी तोकिएको छ । यस्तै, परीक्षा शुल्क एक महिनाको पढाइ शुल्कको ५० प्रतिशत मात्र वार्षिक वा किस्तामा लिन पाउने गरी तोकिएको छ ।

स्थानान्तरण शुल्क कक्षा ५ सम्म पाँच सय र माध्यमिक तहको एक हजार मात्र लिने पाउने तोकिएको छ । विशेष प्रशिक्षण, आवास, यातायात र भोजन शुल्क भने सुविधा उपयोग गर्ने विद्यार्थीहरूको अभिभावकहरूको दुई तिहाई भेलाबाट पारित भएअनुसार गर्नुपर्ने गरी तोकिएको छ ।

यस्तै, शैक्षिक सामग्री शुल्क मासिक शुल्कको १० प्रतिशत मात्र लिन पाइने गरी तोकिएको छ । सम्पूर्ण शिक्षक र कर्मचारीहरूको नियुक्ति पत्र, अध्यापन अनुमति पत्र र शैक्षिक योग्यताको प्रतिलिपी विवरण पनि तत्काल बुझाउन निजी विद्यालयलाई उपमहानगरले परिपत्र गरेको छ ।

यसअघि पनि उपमहानगरपालिकाले निजी विद्यालयलाई परिपत्र गरे पनि अधिकांशले नबुझाएपछि १५ दिने समयसीमा तोकेर सर्कुलर गरेको हो । सर्कुलरमा तहगत शिक्षकहरूलाई आर्थिक वर्ष २०८०/८१ मा भुक्तानी गरेको पारिश्रमिक विवरण पनि उमहानगरपालिकालाई बुझाउनुपर्ने छ ।

विद्यालयमा कार्यरत प्रधानाध्यापकको नियुक्ति पत्र र शैक्षिक योग्यता तथा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियासहितको विवरण पनि बुझाउनुपर्ने छ । उपमहानगरपालिकाको नगर शिक्षा समितिको फागुन १५ गतेको निर्णयअनुसार एकै प्रकारको पोशाक कार्यान्वयन गर्न पनि सर्कुलर गरेको जनाएको छ ।

View : 155

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved