विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आफ्नो निवासमा प्रहरी प्रवेश गरेको घटनाबारे प्रदेशसभामा स्पष्टीकरण दिएका छन् ।
उनले असार ४ गते राति भएको घटना त्रुटिका कारण भएपनि त्यसलाई अन्य कोणबाट व्याख्या गरिएको बताएका हुन् ।
मंगलबार कोशी प्रदेश सभाको बैठकमा घटनाबारे जानकारी गराउँदै मन्त्री पराजुलीले विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकस्थित केशव खड्काको निजी घर मन्त्रालयले लिएको भाडाको घरमा आफू बस्दै आएको जानकारी दिए ।
उनका अनुसार असार ४ गते बेलुका ८ः४५ बजे उक्त घटना हुँदा आफू संखुवासभा र तेह्रथुममा मनसुनजन्य विपद् प्रतिकार्य तथा तयारीसम्बन्धी बैठकमा सहभागी हुन गएको र क्वाटरमा भान्से र सुरक्षा गार्डमात्रै भएको बताए । घटनाको समयमा भान्से र सुरक्षागार्ड पनि बाहिर निस्किएको बताए ।
‘मलाई मेरो निजी सचिव निलबहादुर थापाले फोन गरेर मन्त्रालयको क्वाटरमा अपरिचित मान्छे छिरेको जानकारी दिनुभयो’ उनले भने, ‘क्वाटरमा दौडधुप भएको जानकारी आएको छ भन्ने कुरा मलाई जानकारी आयो र, त्यो जानकारी एसपीलाई समेत जानकारी गराइएको रहेछ । मान्छेहरू प्रवेश गरेको हल्ला भएपछि छिमेकीहरूले बाहिर निस्किएर के भएको हो भनेर सोधखोज गरेछन्, अनि वहाँहरूले आफूहरू सुरक्षाकर्मी भएको जानकारी गराएछन् र स्थानीयले यो त मन्त्री निवास हो के गरिरहनुभएको छ भनेर भनेपछि युनिफर्मवाला पुलिस पनि पुगेछन् ।’
मन्त्री पराजुलीले घरको तल्लो तलामा सुरक्षाकर्मी र आफू माथिल्लो तलामा बस्ने गरेको बताए । बाहिर निस्कदा आफ्नो कोठामा जहिले पनि चाबी लगाउने गरेको स्पष्ट पारे ।
घटना लगत्तै मोरङका प्रहरी प्रमुखले पनि त्यहाँ पुगेको र राति करिब ११ बजेतिर आफूलाई फोन गरेर घटनामा त्रुटि भएको कुरा जानकारी दिएको मन्त्री पराजुलीले बताए । ‘एसपीले मलाई फोन गरेर मान्छेहरूले गल्ती गरे, छानबिन गर्छु भन्नुभयो,’ उनले भने ।
उनले आफू असार ७ गते विराटनगर फर्किएपछि ८ गते बिहान मुख्यमन्त्री र प्रहरी प्रमुखसँग छलफल भएको जानकारी दिए ।
उक्त घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइएको र अन्य कुनै विषय नरहेको उनले बताए ।
मन्त्री पराजुलीले आफूले कुनै गलत काम गरेको कारण प्रहरी छापा मार्न आएको भन्नेसम्मको कुरा आएको गुनासो गरे ।
‘मन्त्रीले कुनै बदमासी गरेर त छापा मारेको होइन भन्ने कुरा पनि आए । प्रदेशमा त्रास पैदा गर्ने हिसाबले पनि विभिन्न कुरा बाहिर आएका छन्’ उनले भने, ‘यी कुनै पनि विषय होइनन्, गल्ती भयो भन्ने कुरा आएको छ ।’
View : 26
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved