Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

जनता आदर्श क्याम्पसमा ‘परामर्श मनोविज्ञान’ सुरु

उद्‌घोष संवाददाता
१४ माघ २०८२, बुधवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस, विराटनगरले समयसापेक्ष र प्रयोगात्मक शैक्षिक कार्यक्रम ‘परामर्श मनोविज्ञानमा स्नातकोत्तर’ सञ्चालनमा ल्याएको छ । शैक्षिक सत्र २०८२–८३ देखि सुरु हुने दुई सेमेस्टरको यो विशेष पाठ्यक्रम  कोशी प्रदेशमै पहिलो पटक सुरु गरिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालय, कला, कानुन तथा शिक्षाशास्त्र संकायका डीन डा. कोमलप्रसाद दुलालले विश्वस्तरीय मापदण्ड अनुसार तयार पारिएको पाठ्यक्रमलाई प्राथमिकता दिइएको बताए । ‘अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्यता प्राप्त यो कार्यक्रमले समाजमा बढ्दो मानसिक स्वास्थ्यका जटिलताहरूलाई सम्बोधन गर्न दक्ष विशेषज्ञ जनशक्ति उत्पादन गर्नेछ,’ डीन डा. दुलालले भने ।

विराटनगरको पुष्पलाल चोकमा अवस्थित सो  क्याम्पसका प्रमुख महेशप्रसाद निरौलाले  नयाँ शैक्षिक कार्यक्रममा ‘परामर्श मनोविज्ञानमा स्नातकोत्तर’ को भर्ना खुलेको जानकारी दिंदै इच्छुक विद्यार्थीहरूलाई यो अवसरको सदुपयोग गर्न आग्रह गरे ।  

उनका अनुसार जुनसुकै संकायबाट स्नातक उत्तीर्ण गरेका विद्यार्थी यसमा भर्ना हुन योग्य हुनेछन् ।

‘हामीले कामकाजी विद्यार्थी र व्यावसायिक व्यक्तित्वहरूलाई ध्यानमा राख्दै यो कार्यक्रम विशेषगरी सन्ध्याकालीन सत्रमा सञ्चालन गर्ने व्यवस्था मिलाएका छौं,’ प्रमुख निरौलाले स्पष्ट पारे ।

क्याम्पसका प्रशासन प्रमुख नारायणप्रसाद पोखरेलले क्याम्पसमा हाल सञ्चालित विभिन्न शैक्षिक कार्यक्रम र सुविधाबारे जानकारी दिए ।

उनका अनुसार क्याम्पसमा हाल स्नातक तहमा चार वर्षे र एक वर्षे बीएड तथा बीएसडब्लू, स्नातकोत्तर तहमा एमएड, एमएसडब्लू र एमएससी पीआरडीको  पढाइ भैरहेको छ ।

ती सबै कार्यक्रमहरू विद्यार्थीको सहजताका लागि बिहान, दिउँसो र साँझ गरी तीनै सत्रमा पठनपाठन भइरहेको प्रशासन प्रमुख पोखरेलले जानकारी दिए ।

समाजमा मनोवैज्ञानिक परामर्शको आवश्यकता बढ्दै गएको वर्तमान सन्दर्भमा सो नयाँ शैक्षिक कार्यक्रम विद्यार्थीका लागि एक कोशेढुङ्गा सावित हुने सो क्याम्पसको दावी  छ ।

View : 149

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved