विराटनगर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशसहित मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा शनिवार आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।
गए रातीमात्रै कोशी प्रदेशको ईलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका धेरै स्थानमा भारी बर्षा मापन भएको छ । साथै थप बर्षा हुने सम्भावना रहेकोले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाइएको छ ।
कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका केही स्थान र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
View : 106
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved