Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लैंगिक हिंसाविरुद्ध रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेलाको उत्साह (फोटो)

उद्‌घोष संवाददाता
१४ मंसिर २०८२, आइतवार

रंगेली । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आइतबार मोरङको रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेला सम्पन्न भएको छ । 

रंगेली नगरपालिकाको आयोजना तथा विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा आयोजित स्वास्थ्य परामर्श मेलाको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् ।

मेलामा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा अध्ययनरत छात्रा विद्यार्थीहरूसहित सरोकारवाला क्षेत्रबाट सहभागिता थियो ।

सो अवसरमा कोशी प्रदेशभित्र काम गरिरहेका २० भन्दा बढी सामाजिक संघसंस्था र सेवा प्रदायक निकायले स्टलमार्फत युवति र किशोरीहरूलाई स्वास्थ्य तथा परामर्श सेवा दिएका छन् ।

मुख्यमन्त्री कार्कीले विद्यालय तहदेखि नै छात्राहरूलाई स्वास्थ्य सचेतना, हिंसाको जोखिम न्यूनीकरण र मानसिक स्वास्थ्य सम्बन्धि परामर्शका लागि प्रदेश सरकारले क्षेत्र छुट्याएर काम गर्न चाहेको बताए । 

कोशी प्रदेश सभाकी उपसभामुख श्रृजना दनुवारले किशोरी शिक्षाको आवश्यकतालाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने बताइन् ।

कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्मरबहादुर बिष्ट, कानेपोखरी गाउँपालिकाकाकी अध्यक्ष राजमती इङ्नामलगायत स्थानीय तहका जनप्रतिनिधि, विद्यालयका शिक्षक, कर्मचारी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडियाले नगरपालिकाले ‘छात्रास“ग उपमेयर’ कार्यक्रम नै सञ्चालन गरेर विद्यालय र स्थानीय तहबीचको सहकार्य गर्दै आएको जानकारी दिए । 

सामाजिक क्षेत्रमा काम गरिरहेका संघसंस्थाको सहकार्यमा नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत गरी २५ वटा विद्यालयका छात्राहरू कार्यक्रममा सहभागी थिए ।

सो अवसरमा विद्यालयहरूले नै स्टल राखेर सहभागीहरूलाई विभिन्न प्रकारका खाजा बनाएर निशुल्क रुपमा खुवाएका थिए । मकालु इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले बालविवाहविरुद्ध सचेतनामुलक नाटक प्रस्तुत गरे ।

१६ दिने अभियान तथा ३४ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको अभियानका अवसरमा सामाजिक विकास मन्त्रालय र रंगेली नगरपालिकाको आयोजनामा रंगेलीस्थित काली मन्दिर र दुर्गा मन्दिर परिसरमा दुई हजार ८०० वटा दीप प्रज्वलन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल र रंगेली नगरपालिकाका मेयर बगडिया, उपमेयर भूमाकुमारी पराजुली, प्रशासकीय अधिकृत प्रदिपकुमार शाह, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख दुर्गा भण्डारी बराल लगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।

एक्काइसौं शताब्दीको अन्त्यतिर पनि लैंगिक हिंसा र कुप्रथा कायम रहेकोले त्यसको अन्त्यका लागि सन्देश दिन दीप प्रज्वलन गरिएको जनाइएको छ ।

View : 259

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved