Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पूविको उपकुलपतिका लागि प्राज्ञिक क्षेत्रमा चर्को बहस

आवेदकहरु भने राजनीतिक जोडघटाउमै व्यस्त
उद्घोष सम्वाददाता
१८ फागुन २०८०, शुक्रवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को उपकुलपतिका लागि गरिएको आह्वानमा आवेदन दिने १८ जना आवेदकहरूको योग्यता,  कार्यक्षमता र व्यक्तित्वका बारेमा प्राज्ञिक क्षेत्रमा बहस चुलिएको छ । 

स्याङ्जाली तोयनारायण पौडेलदेखि इलामे नरेन्द्र कटुवालसम्मका आवेदकहरू रहेका उनीहरूको शीर्षस्थ नेताहरू केपी ओली, डा. शेखर कोइराला, उपेन्द्र यादवदेखि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालसम्मको पहुँच रहेको बताइन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक पहुँचभन्दा  योग्यताको आधारमा गर्ने भन्दै आएका थिए । सोही भनाइलाई पुष्टि गर्न उपकुलपतिका लागि खुला रूपमा सूचना जारी गरी आवेदन आह्वान गरिए पनि आवेदकहरू भने विभिन्न राजनीतिक दल र नेताहरूसँग निकट रहेको पाइएको हो ।

पूविका विभिन्न पदमा कार्यरतबाट उपकुलपतिमा आवेदन दिनेमध्ये अधिकांश विगतमा विभिन्न राजनीतिक बागबण्डाको कोटामा नियुक्त भएका व्यक्तिहरू रहेको बताइन्छ ।

पूवि कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्राडा अनिलकुमार पोखरेल नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएको बताइन्छ । उनी पूविकै सम्बन्धन प्राप्त अन्नपूर्ण कलेज विराटनगरका सञ्चालक पनि हुन् ।

निजी कलेजका सञ्चालक रहेका उनी विश्वविद्यालय सुधार गर्ने प्रमुख पदका लागि कति योग्य हुन सक्छन् भन्ने प्रश्न प्राज्ञिक क्षेत्रमा उठ्नु स्वाभाविकै हो ।

पूविको रिक्त हुने उपकुलपति पदका लागि विश्वविद्यालयभित्रबाटै आवेदन दिनेहरूमा सेवा आयोगका अध्यक्ष प्राडा महेशराज दाहाल, कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्राडा पोखरेल, इञ्जिनियरिङ संकाय डीन प्राध्यापक देवीप्रसाद भट्टराई, व्यवस्थापन संकाय निवर्तमान डीन प्राडा बिजुकुमार थपलिया, अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक सञ्जेशप्रसाद कोइरालालगायत रहेका छन् ।

त्यस्तै विज्ञान प्रविधि संकायका पूर्व डीन शुभनारायण पाठक, पूवि व्यवस्थापन क्याम्पस (पुसोम) मा कार्यरत प्राडा जीवनकुमार ढकालका साथै पूविबाट सम्बन्धन प्राप्त ह्वाइटहाउस इन्टरनेशनल कलेज काठमाडौंका प्राचार्य तोयनारायण पौडेलले समेत उपकुलपतिको लागि आवेदन दिएका छन् ।

पूविमा विभिन्न समयमा पदाधिकारी भएकाहरूले विभिन्न राजनीतिक दलसँग आवद्ध भए वापत सो पद पाएका हुन् भन्ने कुरामा आशंका छैन । 

यस बाहेक बाहिरबाट आवेदन गरेका प्राडा राजनारायण यादव उपेन्द्रकुमार यादव निकट मानिन्छन् । विराटनगर संसारीमाईस्थानस्थित नेशनल एकेडेमीका सञ्चालक उनी उनी मोरङ क्याम्पसका अवकाश प्राप्त प्राध्यापक हुन् ।

अर्का नरेन्द्र कटवाल महेन्द्ररत्न क्याम्पस ताहाचलमा प्राध्यापनरत छन् । उनको निजी कलेज नभएको छैन । उनी नेकपा (एकीकृत समाजवादी) निकट मानिन्छन् ।

विराटनगरकै प्राडा प्रमोदकुमार झा स्नातकोत्तर क्याम्पसबाट अवकाश प्राप्त प्राध्यापक हुन् । मेरिल्याण्ड कलेज विराटनगरका सञ्चालक रहेका उनी माओवादी कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्य भइसकेका छन् ।

त्यसैगरी प्राडा जीवनकुमार ढाकाल केही वर्षअघि मात्र पहिलो पल्ट खुल्ला प्रतिस्पर्धाको माध्यमबाट व्यवस्थापन विषयको प्राध्यापकमा नियुक्त भएका हुन् । उनको नियुक्त प्रक्रिया विवादित भई कार्यारम्भमा ढिलाई भएको थियो ।

महेन्द्र क्याम्पस धरानका प्राडा अशोककुमार झाको पनि निजी कलेज रहेको छ भने गुरुप्रसाद खनाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पूर्व शिक्षाध्यक्ष हुन् । माओवादी निकट भएकोले उनको सर्टलिस्टमा पर्ने सम्भावना प्रबल रहेको बताइन्छ ।

त्यस्तै उपकुलपतिका अर्का आवेदक विनोद पराजुली एड्भान्स इन्जिरियरिङ कलेज कुपण्डोलका सञ्चालक हुन् । प्राडा उमेश कोइराला त्रिवि स्नातकोत्तर क्याम्पस विराटनगरमा वनस्पतिशास्त्रकका प्राध्यापक हुन् । उनी  नेपाली कांग्रेसका डा. शेखर कोइरालासँग निकट मानिन्छन् ।

त्यसैगरी प्राडा रमेशप्रसाद भट्टराई एमाले निकट तथा प्राडा राजकुमार पोखरेल र रेशम बहादुर थापा एमाओवादीनिकट रहेको चर्चा छ ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति अशोककुमार राईको अध्यक्षतामा गठित छनोट समितिले उपकुलपतिका लागि आवेदन दिएका १८ जनाकै प्रस्तुतीकरण र अन्तर्वार्ताको तयारी गरिरहेको बताइएको छ ।

View : 379

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved