विराटनगर । युवा उद्यमशिलता प्रवर्द्धनको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासमा योगदान पुर्याउने उद्देश्यले उद्योग संगठन मोरङले सञ्चालनमा ल्याएको ‘स्टार्टअप एण्ड इनोभेशन’ कार्यक्रम अन्तर्गतका तेस्रो चरणमा सहभागी भएका १८ स्टार्टअपहरुले आफनो ‘आइडिया’को प्रस्तुती गरेका छन् ।
संगठनले सञ्चालनमा ल्याएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यमबाट युवालाई स्वदेश मै उद्यमशिलता विकास तर्फ अभिप्रेरित गर्नु रहेको संगठनका अध्यक्ष राकेश सुरानाले वताए । नविनतम् व्यावसायिक अवधारणा भएका युवाहरुलाई लक्षित गरी सञ्चालित कार्यक्रमले उद्यमशिलता रुपान्तरणका लागि मेन्टरहरुका माध्यमबाट आवश्यक प्राविधिक एवं व्यावसायिक विकास सेवाहरु उपलब्ध गराई वित्तीय व्यवस्थापनका लागि सहजीकरण गर्ने अध्यक्ष सुरानाले स्पष्ट पारे । उनले वर्तमान समयमा युवा पलायन सबै क्षेत्रका लागि चिन्ताको विषय भएको बताउँदै आर्थिक विकासका सम्वाहकका रुपमा रहेका युवा वर्गलाई स्वदेशमै व्यावसायिक विकासको अवसर प्रदान गर्नु सबैको दायित्व भएको धारणा राखे ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले युवा उद्यमशिलता विकासका सन्दर्भमा महानगरपालिका सदैव हातेमालो गर्न तत्पर रहेको वताए । र्स्टाटअप कार्यक्रम अन्तर्गत तेस्रो चरणमा सहभागी भएका १८ स्टार्टअप मध्ये उत्कृष्ट तीन जनालाई महानगरपालिकाको तर्फबाट सहयोग गर्ने मेयर कोइरालाले प्रतिवद्धता व्यक्त गरे ।
संगठनको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमका संयोजक सुरेन्द्र गोल्छाले विश्वका उदयीमान स्टार्टअपहरुमा युवा वर्गको वर्चश्व रहेको वताउँदै देशको आर्थिक समृद्धिमा युवा वर्गले अग्रसरता लिनुपर्ने धारणा राखे ।
तेस्रो चरणमा सहभागी स्टार्टअपहरुलाई व्यावसायिक मोडलका रुपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, मानव संशाधन व्यवस्थापन लगायतका विषयमा परामर्श प्रदान गरी वित्तीय स्रोत व्यवस्थापनका लागि एञ्जल इन्भेष्टरमार्फत लगानी व्यवस्थापनमा सहयोग गरिने उनले जानकारी दिए । संगठनले तीन वर्षदेखि सञ्चालन गर्दै आएको सो कार्यक्रमको पहिलो चरणमा १७ र दोस्रो चरणमा १३ जना स्टार्टअपहरु ग्राजुएट (दीक्षित) भइसकेका छन् ।
View : 195
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved