Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

मोरङको धनपालथानमा सामुदायिक खाद्य बैंक स्थापना

उद्घोष सम्वाददाता
१३ पुष २०८०, शुक्रवार

विराटनगर । मोरङका १७ वटा स्थानीय तहहरु मध्ये धनपालथान गाँउपालिकाले मात्रै सामुदायिक स्तरमै खाद्य बैंक संचालनमा ल्याएको छ । यहाँ संचालित खाद्य बैंकको उद्घाटन गरिएको छ ।
विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र गाँउपालिकाको समन्वयमा खाद्य बैंक संचालनमा आएको जनाइएको छ । 

कोशी प्रदेशका धनपालथान गाँउपालिका र झापाको बाह्रदशी गाउँपालिकाले खाद्य बैंक स्थापना भएको र यस बैंकले लक्षित वर्गका जनता लाभान्वित हुने वडा–६ का वडा अध्यक्ष रोजित हुसेनले बताए । 

खाद्य बैंकबाट असाहय, गरिब र विपन्न वर्गलाई निःशुल्क रुपमा खाद्यान्न सहयोग उपलब्ध हुने जनाइएको छ । त्यसका लागि गाउँपालिकाले कार्यविधि तयार गरी सोही अनुसार सहुलियत दरमा खाद्यान्न बिक्री वितरण समेत गर्ने धनपालथान गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेश झाले बताए । 

खाद्य बैंकबाट छिमेकी पालिकाहरुमा समेत गरिब वा विपन्नहरुलाई खाद्य सहयोग हुने धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदारले बताए । उनले उद्घाटनको दिन नै १० जना गर्भवति तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेका थिए । 

सामुदायिक खाद्य बैंक स्थापनाका लागि विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग रहेको जनाइएको छ । नेपाल जनस्वास्थ्य तथा प्राविधिक सहयोग समुहको भवन लगायतका संरचना निर्माणमा प्राविधिक सहयोग रहेको गाँउपालिका स्वास्थ्य शाखा संयोजक ऋषि सेठले बताए । 

आमा तथा बाल स्वास्थ्यको पोषण कार्यक्रम अन्तर्गत खाद्य बैंक निर्माण गरिएको हो । त्यसका लागि ४५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । 

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष नसिमा बानोसहित विश्व खाद्य कार्यक्रमका प्रतिनिधिहरु,  सातवटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

View : 123

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved