Biratnagar, Morang, Nepal
२५ चैत २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरका शेर्पाले जिते साइकल दौड

उद्‌घोष सम्वाददाता
२४ चैत २०८१, आइतवार

विराटनगर । विराटनगरमा आयोजना गरिएको छैठौं संस्करणको साइकल दौड प्रतियोगितामा उदयपुरका निमा शेर्पाले जित हात पारेका छन् । 

रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा भएको साइक्लोथन सिक्स प्वाइन्ट प्रतियोगितामा त्रियुगा–१० उदयपुरका १८ वर्षीय शेर्पाले ३ सय बढी प्रतिस्पर्धीलाई उछिन्दै जित हात पारेका हुन् । 

शेर्पाले २५ मिनेटमा १४ किलोमिटर दुरी पार गरेका थिए । प्रतियोगितामा धरान–११ का १७ वर्षीय दिपसागर तामाङ दोस्रो र त्रियुगा–१० का १४ वर्षीय कुशान शेर्पा तेस्रो भएका छन् ।

१४ किलोमिटर दुरीको साइकल दौड स्थानीय आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट सुरु भएको थियो । 

प्रतियोगिता सुरु हुनुअघि द गोल्ड जिमका प्रतिनिधिले सहभागीलाई वार्मअप गराएका थिए । त्यसलगत्तै शहीद रंगशाला सामुन्नेको सडकबाट साइकल दौड प्रारम्भ भएको हो ।

सहभागीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलिया, मिस्टर नेपाल सन्तोष लक्सुम लिम्बू र मिस नेपाल आश्मा केसीले झण्डा देखाएर दौड सुरु गरेका थिए । 

साइकल दौडका सहभागीहरू गोल्छाचोक, तीनपैनी, पुष्पलालचोक हुँदै विराटनगर–१९ को मिलनचोकसम्म पुगेका थिए । त्यहाँ पुगेका प्रतियोगीलाई आयोजकले दिएको ह्याण्ड ब्याण्ड लिएर फर्किएका थिए । 

स्वास्थ्य र सामुदायिक भावनाको विकास तथा संस्थाको कोष वृद्धिको उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विवेककुमार अग्रवालले जानकारी दिए । 
प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 

यसैगरी प्रतियोगितामा सहभागीलाई लक्की ड्र मा सहभागी गराई २५ जनालाई जनही ५/५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा ३ सय बढीले सहभागिता जनाएका थिए ।

View : 124

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved