Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले नेता बस्नेतमाथि रंग फ्याँक्ने दुई पक्राउ

बस्नेतले विराटनगर विमानस्थलमा आफुमाथि रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास भएको बताएका छन् । घटनालाई गम्भीर र निन्दनीय भएको उनले सामाजिक संजालमा उल्लेख गरेका छन् ।
उद्‌घोष संवाददाता
७ मंसिर २०८२, आइतवार

विराटनगर । विराटनगर विमानस्थलबाट निस्किएका नेकपा एमालेका नेता महेश बस्नेतमाथि रातो रंग फ्याँक्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार विहान विराटनगर विमानस्थलबाट सुनसरी जाने क्रममा विमानस्थलबाट निस्किएका बस्नेतमाथि विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमले रंग फ्याँकेका थिए । 

बस्नेत चढेको गाडीको सिसा बन्द भएका कारण रंग भने नलागेको जनाइएको छ । 

वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक अनमोल खड्काको नेतृत्वमा खटिएको प्रहरीले कुँवर र गौतम दुवैलाई तत्कालै पक्राउ गरेको छ ।

पक्राउ पछि युवकहरू नेता बस्नेतविरुद्ध नाराबाजी गरेका थिए । 

बस्नेत सुनसरीको इटहरीमा युवा संघको जनजागरण अभियानमा सहभागी हुन आइतबार विहान करीव साढे १० बजे विराटनगर विमानस्थलमा ओर्लिएका थिए । 

बस्नेत विराटनगर आइपुग्ने भएपछि जेनजी समुहका नाममा केही युवकहरूले विरोध गर्ने घोषणा गरेपछि उनीहरूलाई प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालयमै बोलाएर बार्ता गरिरहेका थिए । वार्ता चलिरहेकै बेलामा युवकहरूले भने बस्नेतमाथि रातो रंग हालिएको प्लाष्टिकको पोका फ्याँकेका थिए । उक्त पोका गाडीको सिसामा लागेर भुईंमा खसेको थियो ।

बस्नेत आउने भएपछि विराटनगर विमानस्थलदेखि कोशी राजमार्गसम्मको सडकमा प्रहरी परिचालन गरिएको थियो ।

बस्नेतले विराटनगर विमानस्थलमा आफुमाथि रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास भएको बताएका छन् । घटनालाई गम्भीर र निन्दनीय भएको उनले सामाजिक संजालमा उल्लेख गरेका छन् ।

‘घटना गम्भीर र निन्दनीय छ, लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ, शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन’ उनले भने, ‘हिंसा होइन—विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फतै देश अगाडि बढ्छ, अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन ।’

उनले आफुमाथि बाधा उत्पन्न गर्न खोजेपछि अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुन लागेको बताएका छन् । साथै, उक्त अभियान देशभर नयाँ प्रेरणा फैलाउने पनि बताएका छन् ।

View : 317

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved