विराटनगर । सभापति सरोज पोखरेल माथि महेन्द्र मोरङ क्याम्पसमा भएको आक्रमणपछि नेपाल विद्यार्थी संघ मोरङको विवाद झनै चुलिएको छ ।
नेविसंघ कार्यकर्ताकै आक्रमणमा परेर घाइते पोखरेल उपचारका क्रममा अस्पतालमै छन् । उनी उपचारमा रहेकै बेला संस्थापन पक्षले नेविसंघको समानान्तर समिति घोषणा गरेको छ ।
जिल्ला सभापति पोखरेल शेखर कोइराला समूहका हुन् भने संस्थापन पक्षीय १२ जना केन्द्रीय सदस्यले मोहम्मद तनविरलाई जिल्ला सभापति बनाएको भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन् ।
उपचारका क्रममा रहेका सभापति पोखरेलले केन्द्रीय सदस्यहरूले घोषणा गरेर अर्को सभापति बनाउने काम विधान विपरित र अराजक कदम भएको बताएका छन् ।
‘जिल्ला सभापति केन्द्रीय सदस्यहरूले तय गर्ने विषय नै होइन’, पोखरेलले भने ‘यो विधान विपरित र अराजकता मात्रै हो ।’ उनका अनुसार मोरङमा मात्रै नेविसंघका २५ जना केन्द्रीय सदस्य छन् । तीमध्ये १२ जनाले तनविरलाई सभापति बनाएको बताएका हुन् ।
केन्द्रीय सदस्यहरू अंकित भट्टराई, सुबिन पराजुली, अभिषेक भट्टराई, विकास भण्डारी, दिपेन रौनियार, रोशन पराजुली, लक्ष्मीनारायण अधिकारी (सरोज), प्रमिला ढकाल एरिका, सुमन ढकाल, दिवाकर यादव, विवेक लिम्बू, प्रज्ज्वल पौडेलले तनविरलाई सभापति घोषणा गरेका हुन् ।
कोइराला पक्षका विद्यार्थी नेताहरूले भने संस्थापन पक्षका नेताहरूको उक्साहटमा नेविसंघको समानान्तर समिति बनाइएको आरोप लगाएका छन् ।
कोइराला पक्षले संस्थापन पक्षका नेताहरूको जोडबलमा मोरङ प्रहरीले सरोज पोखरेलमाथि आक्रमण गर्नेहरूविरूद्धको जाहेरी नलिएको, आक्रमणकारीहरूलाई उल्टै जोगाउन खोजेको आरोप पनि लगाएको छ ।
तर, जिल्ला प्रहरीले भने जाहेरी लिएर दुवै पक्षलाई छलफलका लागि बोलाइएको तर दिनभरी कुर्दा पनि शनिबार आक्रमणमा परेको समूहका कोही पनि नआएको बताएको छ ।
‘जसकाविरूद्ध जाहेरी छ उनीहरूलाई हामीले झिकायौं, अर्को पक्षलाई पनि बोलायौं तर अर्को पक्ष आएन’, जिल्ला प्रहरी प्रवक्ता वेद जोशीले भने ‘त्यसैले रोहबरमा हामीले अर्को पक्षलाई छाडेका छौं । फेरि बोलाएर छलफल गराउने कुरा छ ।’
कोइराला पक्षका नेविसंघ कार्यकर्ता भने महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जशवन्त पौडेल, प्रशान्त यादव, स्ववियुका सचिव सनिम ठकुरीलाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् ।
पोखरेलले उनीहरूकै योजना र संलग्नतामा आफूमाथि बिहीबार आक्रमण भएको बताइरहेका छन् ।
View : 257
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved