Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

दुई क्यासिनोमा प्रहरी छापा

क्यासिनोमा जुवा खेल्ने १७ नेपाली पक्राउ

विदेशीलाई मात्रै प्रवेश गर्न दिइने भएकाले क्यासिनोमा सरकारले जुवाको अनुमति दिने गरेको भए पनि विराटनगरका क्यासिनोले धेरै नेपालीको सहज प्रवेश हुने गरेको उद्घोषले समाचार सार्वजनिक गरेपछि प्रहरीले कारवाही गरेको हो ।
उद्‌घोष संवाददाता
८ पुष २०८२, मङ्गलवार

एआईद्वारा निर्मित सांकेतिक तस्वीर ।

विराटनगर । गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने विराटनगरका दुई क्यासिनोमा प्रहरीले आइतबार मध्यरात छापा मारेर सञ्चालकसहित १७ जनालाई पक्राउ गरेको छ । 

विराटनगरका क्यासिनोमा नेपालीलाई पनि जुवा खेलाउने गरिएको र त्यस बापत प्रहरी प्रशासनलाई उनीहरूले रकम बुझाउने गरेको समाचार उद्घोष दैनिकले आइतबार नै प्रकाशन गरेको थियो ।

समाचार प्रकाशित भएकै दिन प्रहरीले आफूमाथि लागेको आरोप चिर्न रातको ११ बजे छापामारी गरेको हो । पक्राउ पर्नेमा खेलाडी र क्यासिनोका सञ्चालक र ब्यवस्थापक पनि छन् ।

‘विराटनगरमा यतिका वर्षमा पहिलो पटक क्यासिनोका सञ्चालक पक्राउ गरेर प्रहरीले ठूलो काम गरेको छ’ एक क्यासिनोका जानकारले भने ।

बिग होटलमा सञ्चालित च्याम्पियन जोन क्यासिनोबाट प्रहरीले त्यसका ब्यवस्थापक काभ्रे जिल्ला बनेपा नगरपालिका–११ का ४५ वर्षीय रामकृष्ण गौतमसहित तीन जनालाई पक्राउ गरेको छ ।

बैतडीका ५३ वर्षीय हरि भट्ट र विराटनगर–८ का साजन साहसमेत सोही क्यासिनोबाट पक्राउ परेका छन् ।

मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालका अनुसार रत्ना होटलमा सञ्चालित गोल्डेन क्वाइन क्यासिनोबाट त्यसका ब्यवस्थापक सोलुखुम्बुका ४३ वर्षीय लोकेन्द्रबहादुर बस्नेत (हाल काठमाडौं) सहित १४ जना पक्राउ परेका छन् ।

 सो क्यासिनोबाट पक्राउ पर्नेहरूमा विराटनगर–७ का २७ वर्षीय पवन गोश्वामी, विराटनगर–१ का ४५ वर्षीय तेजराज गिरी, २६ वर्षीय कृष्णकुमार कुर्मी र २४ वर्षीय विवेककुमार मण्डल, रामेछापका राज लामा भनिने मणि योञ्जन छन् ।

यस्तै झापा मेचीनगर–७ घर भई विराटनगर ६ वस्ने ४० वर्षीय रोशन गिरी, इटहरी–५ का २७ वर्षीय रूपेश दाहाल, वडा नम्बर ८ का २९ वर्षीय प्रमोद घिमिरे मोरङ सुन्दरहरैंचा–४ का २३ वर्षीय आदेश बिक, बुढीगंगा–२ का ४० वर्षीय मोहमद जाकिर हुसेन, कटहरी ४ का २६ वर्षीय सुरज राय, झापा दमक–४ का ४० वर्षीय घनश्याम गिरी,  उदयपुर चौदण्डीगढीका ३८ वर्षीय सन्तोष बस्नेत पनि पक्राउ परेका छन् । बस्नेत क्यासिनोका कर्मचारी हुन् ।

पक्राउ परेका ब्यक्तिहरूबाट जुवा खेल्न नगदको साटो प्रयोग हुने चक्कीसहित पक्राउ गरिएको छ । क्यासिनोले खेलाडीलाई खेल्नु अघि नगद लिएर भारू १ सय, १ हजार र १० हजार दरका चक्की दिने गरेको छ ।

उनीहरूलाई जुवातास सट्टेबाजीको दफा १२५ अन्तर्गत मुद्दा चलाइने भएको छ । जिल्ला अदालत मोरङबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको नायव उपरीक्षक चुडालले बताइन् । 

विदेशीलाई मात्रै प्रवेश गर्न दिइने भएकाले क्यासिनोमा सरकारले जुवाको अनुमति दिने गरेको भए पनि विराटनगरका क्यासिनोले धेरै नेपालीको सहज प्रवेश हुने गरेको उद्घोषले समाचार सार्वजनिक गरेपछि प्रहरीले कारवाही गरेको हो ।

क्यासिनोमा नेपालीलाई जुवा खेलाए नखेलाएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अगुवाइमा निगरानी गर्नुपर्ने नियम छ ।

क्यासिनो खेलेर लाखौं गुमाएका एक ब्यक्तिका अनुसार, विराटनगरमा क्यासिनोमा जुवा खेल्न कोशी प्रदेशका प्राय सबै जिल्लाका मानिस आउने गरेका छन् ।

भारतीय भन्दा नेपाली बढी आउने भएकाले विराटनगरका क्यासिनोमा स्थानीय नेपालीलाई आकर्षित गर्न जुवाडेलाई घरमै लिन र पु-याउन गाडीसमेत पठाउ“छन् ।  जुवा खेल्न जाने नेपाली ग्राहकहरू मध्ये कतिपयको  विवरण क्यासिनोको कर्मचारी र  कतिपयको  भारतीय उल्लेख गरिने गरिएको बताइन्छ ।

क्यासिनोमा रकम लेनदेन गर्न नेपाली मिटरब्याजी पनि क्यासिनो मै ढुकेर बस्ने गरेको बताइएको छ । जेनजी आन्दोलनपछि प्रहरी, प्रशासन मौन बस्दा सरकारी कर्मचारीसमेत सरकारी सवारी साधन लिएर क्यासिनोमा जुवा खेल्न जाने गरेका छन् ।

गत वर्ष विराटनगर महानगरका उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले क्यासिनोमा नेपाली खेलाडीको संख्या उल्लेख्य फेला परेको थियो ।

View : 217

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved