Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

विद्युत महसुल बढाउन खोजेको भन्दै पूर्वका उद्योगी व्यवसायीहरुको विरोध

उद्घोष सम्वाददाता
२२ फागुन २०८०, मङ्गलवार

विराटनगर । नेपाल विद्युत प्राधिकरणले विद्युतको महसुल बृद्धि गर्न लागेको भन्दै पूर्वका उद्योगी व्यवसायी सम्वद्ध संस्थाहरुले विरोध जनाएका छन् । उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले अलग–अलग विज्ञप्तिमार्फत महसुल बृद्धिको तयारी प्रति असन्तुष्टि जनाएका हुन् ।

विद्युत नियमन आयोगले विद्युत महशुल वृद्धि गर्ने तयारी गरिरहेको कुरा सार्वजनिक भएपछि त्यस बिषयमा गम्भीर ध्यानाकर्षण भएको उद्योग संगठन मोरङले जनाएको छ । 

उद्योग व्यवसाय क्षेत्रले अझैपनि दैनिक १० घण्टासम्म लोडसेडिङ खपिरहेको, ट्रिपिङ र लो भोल्टेजको समस्या कायमै रहेको भन्दै यस्तो बेलामा निरन्तर विद्युत उपलब्ध गराउने कामबाट पछि हट्दै प्राधिकरणले महसुल बढाउने तयारी गरेको आरोप लगाएको हो ।

‘विभिन्न कठिनाईको सामना गर्दै हाल संचालनमा रहेका उद्योग व्यवसाय क्षेत्र र सर्वसाधारणले हाल उपभोग गर्दै आएको प्रति यूनिट विद्युत तुलनात्मक रुपमा अन्य मुलुकको भन्दा बढी रहेको अवस्थामा फेरीपनि विद्युत महशुल वृद्धिगर्दा त्यसको प्रत्यक्ष प्रभाव वस्तुको उत्पादन मुल्यमा पर्न गई आम उपभोक्तामा महंगाईको मारमा पर्नेछ’ विज्ञप्तिमा संगठनका अध्यक्ष राकेश सुरानाले भनेका छन्, ‘पूर्व सूचना विना उद्योग व्यवसायमा हुने पावर कटले श्रमिक व्यवस्थापनमा कठिनाई भएको छ ।’ 

अध्यक्ष सुरानाले हस्ताक्षर गरेको विज्ञप्तिमा विद्युतको पुरानो संरचनाका कारण सानो झरी, बर्षा, हावामा समेत अत्यधिक पावर कट हुने गरेको उल्लेख छ । जसका कारण उद्योगहरुको उत्पादन प्रक्रिया रोकिनाले जेनेरेटर संचालन गरेर उत्पादन गर्नुपर्दा लागत बृद्धि हुनुका साथै वस्तुको गुणस्तरमा ह्रास आई स्वदेशी उद्योगहरुको प्रतिष्पर्धात्मक क्षमता नै ह्रास आइरहेको जनाइएको छ ।

प्राधिकरणको महशुल भुक्तानीमा बिलम्व हुँदा उपभोक्तासँग जरिवाना लिने तर विद्युतको गुणस्तरका कारण उद्योगको मिल मेशिनेरीमा आउने खराबीको जिम्मेवारी कस्ले लिने ? भन्दै अध्यक्ष सुरानाले प्रश्न गरेका हुन् । 

संगठनले हाललाई उद्योगहरुले भोग्दै आएको लोडसेडिङको समस्या, उपलब्ध विद्युतको गुणस्तर, बारम्वार भईरहने लो भोल्टेज र ट्रिपिङको समस्या समाधान गरी गुणस्तर र निरन्तर विद्युतको उपलब्ध गराउन प्राधिकरणसँग माग गरेको छ । अन्य सार्क राष्ट्रहरुले निर्धारण गरेको विद्युत महशुललाई समेत मध्यनजर गरी सर्वसाधारणको दैनिकी जीवनसँग सम्वन्ध राख्ने विद्युत महशुल हाललाई यथावत राखी कुनै प्रकारको बृद्धि नगर्न समेत विद्युत नियमन आयोग समक्ष माग गरेको छ ।

प्राधिकरणले विद्युत महसुल बृद्धि गर्ने तयारी गरेको भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) ले समेत विज्ञप्तिमार्फत असहमति जनाएको छ । परिसंघका कोशी प्रदेश अध्यक्ष पवन सारडाले प्राधिकरण र विद्युत नियमन आयोगले महशुल बृद्धि गर्ने तयारी गरिरहेको कुरा जानकारीमा आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

प्राधिकरणले विगतमा अपनाएको दोहोरो नीतिका कारण उद्योग व्यवसाय क्षेत्रले दैनिक पटक–पटक  लोडसेडिङ, ट्रिपिङ, लो–भोल्टेज लगायतका समस्या भोग्दै आएको अवस्थामा महसुल बृद्धि गर्न नहुने उनले बताए । 

‘विना जानकारी अघोषित लोडसेडिडका कारण उद्योग व्यवसायमा हुने अचानक पावर कटले प्रोसेसिडमा रहेको कच्चा पदार्थको नोक्सानी, बिना काम कामदार राख्नु पर्ने बाध्यता भइरहेको छ’ परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘उद्योग संचालनको प्रारम्भिक र मुख्य श्रोत विद्युत अहले पनि महंगो मुल्य तिरेर उद्योग संचालन गरिरहेकोमा यसमा पनि बृद्धि गरेमा यसको प्रेसर उद्योगले थाम्न नसक्ने र औधोगिक क्षेत्र तहसनहस र धरासायी हुने निश्चित देखिएको छ ।’

परिसंघले बैंकको चर्को ब्याजदर, कच्चा पदार्थको समस्या, विश्वभरको आर्थिक मन्दीको असर र आर्थिक क्षेत्रका विभिन्न कठिनाईको सामना गर्दै उद्योग व्यवसाय संचालन गरिरहेको निजी क्षेत्र उक्सिनै नसकेको भन्दै प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो ।

View : 251

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved