विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्का दुईवटा ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
मंगलबार नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको ‘संविधान संशोधनः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले नागरिकमा बढेको निराशा चिर्न, संविधान संशोधन तथा राजनीतिक स्थायित्व दिने सर्तमा दुई दलबीच सहकार्य भएको बताएका हुन् । उनले त्यो काम पुरा हुन नसके मुलुकमा अनिश्चितता बढ्ने बताए ।
कोइरालाले सरकारलाई सही काम गर्न पार्टीभित्रका नेता, प्रेस जगत्, नागरिक समाजलगायत सबैले खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।
‘देशमा रहेका समस्या समाधान, राजनीतिक स्थायित्व र नागरिक निराशा चिर्न तथा संविधान संशोधन गरी देशमा स्थिरता ल्याउने भन्दै दुई ठूला दल एकठाउँमा आएका छौं, यस अवस्थामा धेरै अपेक्षा र आशंका छन्’ उनले भने, ‘कतिपयले ठूला शक्ति मिलेकाले निरंकुशतातिर उन्मुख होलान् कि भनी शंका गरिरहेका छन्, त्यसैले यो सरकारलाई असफल हुने छुट छैन ।’
कोइरालाले निरंकुश हुने सवालमा तपाईं हामी सबैले आ–आनो ठाउँबाट खबरदारी गरिरहनुपर्ने बताए । उनले १० वर्षमा संविधानमा पुनरावलोकन गर्ने कुरा संविधानमै उल्लेख भएको दाबी गरे । सोही कारण दुई ठुला दलले संविधान संसोधनको विषयलाई निष्कर्षमा पुर्याउनुपर्ने धारणा राखे ।
अहिलेको संविधान अनुसार अपनाइएको निर्वाचन प्रणालीका कारण राजनीतिक दलहरुबीच निर्वाचनपूर्व नै गठनबन्धन गर्नुपर्ने अवस्था बनेको र अस्थिरता कायम भइरहने खतरा रहेको नेता कोइरालाले बताउने गरेका छन् ।
मंगलबार पनि उनले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले राजनीतिक अस्थिरता हुने गरेको जिकिर गरेका छन् ।
‘समावेशी प्रतिनिधित्वसमेत सुनिश्चित, राजनीतिक स्थिरता र नागरिकमा आशा जागृत हुने गरी संविधान संशोधन हुनुपर्छ’, उनले भने, ‘संसद् रहेका सबै राजनीतिक दलले बृहत् समझादारी गरेर संविधान संशोधन गरिनुपर्दछ ।’
View : 309
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved