यस्तो कोशी प्रदेशको चालु आवको बजेट समीक्षा
विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्ष २०८०/८१ को बैशाखसम्म ४३ प्रतिशतमात्रै खर्च भएको बताएका छन् । आइतबार कोशी प्रदेश सभामा आगामी आर्थिक बर्ष २०८१/८२ को विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकताहरू सार्वजनिक गर्दै मन्त्री मगरले चालुतर्फ ५१ दशमलव ६१ र पूँजीगततर्फ ३६ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको बताएका हुन् ।
सरकारले अध्यादेशमार्फत कोशी प्रदेश सरकारको चालु आवका लागि ३६ अर्ब ७४ करोड ३५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । उक्त बजेट अन्तरगत वैशाख मसान्तसम्ममा अघिल्लो आवको तुलनामा ४ दशमलव ३९ प्रतिशत बजेट न्यून खर्च रहेको जनाइएको छ ।
‘चालु खर्चतर्फ ५१ दशमलव ६१ प्रतिशत र पूँजीगत खर्चतर्फ ३६ दशमलव ८७ प्रतिशत गरी कुल खर्च ४३ दशमलव ४२ प्रतिशत भएको छ, त्यसैगरी गत आर्थिक वर्षमा ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन भएकोमा वैशाख मसान्त सम्ममा चालु खर्चतर्फ ५० दशमलव ४२ प्रतिशत पूँजीगत खर्चतर्फ ४५ दशमलव ६१ प्रतिशत गरी कुल खर्च ४७ दशमलव ८१ प्रतिशत भएको हो’ मन्त्री मगरले भने, ‘गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल खर्च ४ दशमलव ३९ प्रतिशत न्यून रहेको छ ।’
उनले खर्चको प्रतिशत विगत वर्षको तुलनामा कम हुनुमा राजनैतिक अस्थिरताको कारण सरकार बन्ने र विघटन हुने क्रम निरन्तर चलिरहेको बताए । सोही कारण मध्य मङ्सिरमा मात्र प्रतिस्थापन बजेट सभाबाट पारित भई कार्यान्वयनमा आएको र केही समय बजेट होलिडेको अवस्था समेत सिर्जना भएको स्मरण गराए ।
उनले प्राप्ति तर्फ चालु आर्थिक वर्षमा संघीय अनुदानमा १६ अर्ब ११ करोड ७० लाख, राजस्व बाँडफाँड तर्फ ११ अर्ब ६४ करोड ८१ लाख, आन्तरिक आय तर्फ ४ अर्ब ५७ करोड ७८ लाख र नगद मौज्दात ४ अर्ब २५ करोड १ लाख लक्ष्य तोकिएकोमा बैशाख मसान्तसम्ममा संघीय अनुदानमा १२ अर्ब १ करोड ३१ लाख, राजस्व बाँडफाँड तर्फ ७ अर्ब ८८ करोड ५१ लाख, आन्तरिक आय तर्फ ३ अर्ब ३ करोड २५ लाख र नगद मौज्दात ४ अर्ब २५ करोड १ लाख गरी जम्मा ७४ दशमलव २८ प्रतिशत प्राप्ति भएको जानकारी दिए ।
गत आर्थिक वर्ष भने संघीय अनुदानमा १९ अर्ब ९ करोड ९१ लाख, राजस्व बाँडफाँड तर्फ ११ अर्ब ८८ करोड २४ लाख, आन्तरिक आय तर्फ ४ अर्ब ९८ करोड ४५ लाख र नगद मौज्दात ३ अर्ब ५१ करोड ५५ लाख लक्ष्य तोकिएकोमा बैशाख मसान्तसम्ममा संघीय अनुदानमा ८१ दशमलव ३२ प्रतिशत, राजस्व बाँडफाँड ५२ दशमलव २१ प्रतिशत, आन्तरिक आय ५९ दशमलव ०४ प्रतिशत र नगद मौज्दात शत प्रतिशत प्राप्त भएको जनाइएको छ ।
चालु आर्थिक वर्षमा कोशी प्रदेशको विशिष्ट राजनैतिक परिस्थितिका कारण मुलुककै इतिहासमा पहिलो पटक १२ दिन आर्थिक ऐन विहीन अवस्थामा कर संकलन भएको मन्त्री मगरले सभालाई जानकारी दिए ।
कोशी प्रदेशको पूँजीगत खर्चको प्रतिशत उत्साहजनक देखिए तापनि यसको मुख्य कारण बहुवर्षीय आयोजनाहरूको दायित्व भएको बताए । गत आर्थिक वर्षसम्ममा बहुवर्षीय आयोजनाको भुक्तानी दायित्व १६ अर्ब २५ करोड बाँकी रहेकोमा चालु आर्थिक वर्षमा ४ अर्ब ९५ करोड विनियोजन भई आगामी आर्थिक वर्षको लागि ११ अर्ब ३० करोड दायित्व बाँकी रहने जनाइएको छ ।
चालु आर्थिक वर्षमा बहुवर्षीय आयोजनाको रुपमा कार्यान्वयनमा गएका आयोजनाको दायित्व समेत चप हुने मन्त्री मगरले बताए । सोही कारण आगामी आर्थिक वर्षको बजेट तर्जुमामा दवाव रहने कुरा सभालाई जानकारी दिए ।
उनले बजेट तर्जुमाको लागि नीतिगत, कानूनी र संस्थागत बन्दोवस्त पर्याप्त भए तापनि बजेटले प्रदेशका सबै नागरिकहरूका माग र आवश्यकतालाई सन्तुलित रुपमा सम्बोधन गर्नुपर्ने अवस्था रहेको बताए ।
View : 199
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved