Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी सरकार परिवर्तनको चर्चा

कार्कीले नहटाउने, माओवादी नबाहिरिने

उद्घोष सम्वाददाता
२३ फागुन २०८०, बुधवार

विराटनगर । कोशी प्रदेश सरकारमा सामेल सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ । 

केन्द्रमा नेकपा एमालेसहितको नयाँ गठबन्धन बने पनि कोशी प्रदेशमा माओवादीले सरकार छाड्न ‘पर्ख र हेर’को नीति लिएको छ । माओवादीले सरकारमा सामेल मन्त्रीहरूलाई तत्कालै फिर्ता नबोलाउने भएको हो ।

नेपाली कांग्रेससहितको  गठबन्धन दलहरूसँग विद्रोह गर्दै कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा संविधानको १६८ को उपधारा (५) अनुसार असोज २७ गते केदार कार्की मुख्यमन्क्री नियुत्त भएका थिए । सामन्य अवस्थाबाट कार्की मुख्यमन्त्री नबनेका कारण सरकार परिवर्तनको भरपर्दो विकल्प तय नभएसम्मका लागि माओवादी कोशी प्रदेश सरकारमा रहिरहने मनस्थितिमा देखिएको छ ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा अहिले १० जना मन्त्री छन् । जसमा माओवादीका तर्फबाट तीन मन्त्री सामेल छन् । उक्त पार्टीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कार्की छन् । 

कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई, स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवार, उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री, आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङ छन् । नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगु छन् ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो केन्द्रमा भएको गठबन्धन फेरबदलका कारण तत्काल कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने कुनै निर्णय नभएको बताउँछन् ।

मुख्यमन्त्रीका बारेमा सामान्य छलफलमा रहेको बताउँदै अन्य प्रदेश भन्दा भिन्न ढंगबाट (संविधानको १६८ को उपधारा ५ अनुसार) कोशी प्रदेश सरकार बनेकाले यसको बैकल्पिक व्यवस्था विना अगाडि बढ्दा अस्थिरता र अन्योल सृजना हुने भएकाले तत्काल सरकारबाट बाहिरिने कुनै योजना नरहेको उनले प्रष्ट पारे ।

‘केन्द्रमा उत्पन्न नयाँ परिस्थति एक ढंगले अघि बढेको छ’ आङबोले भने, ‘कोशी प्रदेश सरकार फेरबदल हुने अवस्था फरक ढंगको छ । कोशी प्रदेशमा रहेको वर्तमान सरकार परिवर्तनका लागि भरपर्दो र अर्को बैकल्पिक व्यवस्था नभएसम्म सरकार छाड्ने मनस्थितिमा हामी पुगेका छैनौं ।’

यता मुख्यमन्त्री कार्की पनि माओवादीप्रति लचिलो नै देखिन्छन् । उनले अन्य प्रदेशमा जस्तो माओवादीका मन्त्रीहरूलाई तत्कालै बर्खास्त नगर्ने बुझिएको छ । कोसी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई केन्द्रको राजनीतिक परिस्थितिको कारणले कोसी प्रदेश सरकारका मन्त्री परिवर्तन गरिहाल्ने योजनामा सरकार नरहेको बताउँछन् ।

प्रवक्ता राई भन्छन्, ‘अन्य प्रदेशको जस्तो तत्काल गठबन्धन बाहिरका दलका मन्त्रीहरूलाई हटाइ हाल्ने पक्षमा अहिले नै पुगेका छैनौं ।’ नयाँ गठबन्धन दलमा आबद्ध पार्टीले वर्तमान सरकार फेरबदलको कसरत भएसँगै त्यसबारेमा कसरी अगाडि बढ्ने बारेमा आवश्यक निर्णय लिने उनले बताए । 

नेकपा माओवादी केन्द्रले एमाले, रास्वपा, जसपालगायतका दलसँग मिलेर नयाँ गठबन्धन केन्द्रमा बनाएझै कोशी प्रदेशमा पनि बनाउन सुविधाजनक बहुमत छ । तर नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार अहिलेको सरकार बनेकाले संवैधानिक जटिलता पनि उतिकै छ ।

संविधानको कुन उपधाराअनुसार सरकार बन्ने निश्चित छैन । किनभने धारा १६८ को ५ अनुसार सरकार बनिसकेको अवस्था छ । सरकार फेरबदलतर्फ लाग्दा प्रदेश सभा विघटनको दिशामा जाने सम्भावना पनि उतिकै रहेकोले एमाले, माओवादी उचित विकल्प नभएसम्म कोशी प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने मनस्थितिमा देखिएका छन् ।

View : 143

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved