Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

भ्रष्टाचारविरूद्ध निगरानी संस्थाको खबरदारी

उद्‌घोष सम्वाददाता
२३ मंसिर २०८०, शनिवार

विराटनगर : भ्रष्टाचारविरूद्धको अभियानमा सक्रिय भ्रष्टाचारविरूद्धको नागरिक निगरानी संस्थाले व्याप्त भ्रष्टाचार र अनियमितताप्रति खबरदारी जारी राख्ने भएको छ । शनिबार निगरानी संस्थाको आयोजनामा भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै त्यसमा अन्य सरोकारवाला क्षेत्रका प्रतिनिधिहरूले समेत साथ दिने जनाएका हुन् ।

‘भ्रष्टाचारका विरूद्ध एकजुट हौं, भ्रष्टाचारलाई समूल समाप्त गरौं’ झन्ने नाराका साथ आयोजित अन्तरसम्वाद कार्यक्रमका वत्ताहरूले सरकारका कार्यालय र निकायहरू, स्थानीय तह र अन्य सार्वजनिक क्षेत्रमा हुने गरेको भ्रष्टाचार अझ बढेको बताए ।

प्राध्यापक कृष्ण पोखरेलले भ्रष्टाचारका काण्डहरू झन्–झन् संस्थागत भएर जाने अवस्थाको सुरूवात हुनु राज्यका लागि खतरनाक भएको बताए । उनले कार्यालयहरूमा सामान्य कर्मचारीले पैसा उठाएर माथिल्लो निकायमा महानिर्देशकसम्म पुग्ने अवस्था अन्त्य नभएको, नीतिगत भ्रष्टाचार नरोकिएको र आफ्ना मान्छे सार्वजनिक संस्थामा पुर्‍याएर अनुकूल फाइदा लिने कार्यहरू चुनौतिपूर्ण भएको बताए ।

बिष्णुमाया पुस्तकालयका अध्यक्ष एवं निगरानी संस्थाका सदस्य केशव गौतमले मालपोत, नापी, यातायात जस्ता कार्यालयमा अहिले पनि खुल्लमखुल्ला लेनदेन हुने गरेको दाबी गरे । 
विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले सवै क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको बताए । उनले रोगी मानसिकता बढ्दै गएर मानिसहरू भ्रष्टाचारमा संलग्न हुने गरेको बताए ।

आफूले महानगरपालिकाभित्र भ्रष्टाचार न्यूनिकरणका लागि निरन्तर प्रयास गरिरहेको दाबी गरे । मुलुकभित्रका सवै निकाय र क्षेत्रले आफ्नो ठाउँमा गर्ने कामप्रति प्रतिवद्धता जनाएर गरेको खण्डमा भ्रष्टाचार न्यूनिकरणमा मद्दत पुग्ने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राजनीतिक स्वार्थले भ्रष्टाचार नरोकिएको बताए । मुलुकमा भ्रष्टाचारविरूद्धको आवाज भने बढ्दै गएको भन्दै खुसी व्यक्त गरे । 
उद्योग संगठन मोरङका कोषाध्यक्ष सुवोध कोइरालाले निजी क्षेत्र समेत भ्रष्टाचारकै कारण पीडित बन्दै आएको बताए । उद्योगी व्यवसायीहरूले सानो काम गराउन पनि महिनौं कुर्नुपर्ने गुनासो गरे ।

विराट व्यापार संघका अध्यक्ष नरेश खत्रीले निर्वाचन प्रणाली खर्चिलो भएका कारण भ्रष्टाचार बढेको बताए । 

निगरानी संस्थाका अध्यक्ष मोहन झण्डारीको अध्यक्षतामा आयोजित अन्तरसंवाद कार्यक्रममा वत्ताहरूले भ्रष्टाचारविरूद्ध कारवाही चलाउने अधिकारप्राप्त रहेको जिल्ला प्रशासन कार्यालयबाट प्रतिनिधि उपस्थित नभएको भन्दै गुनासो गरेका थिए ।

अध्यक्ष भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कामलाई नागरिक तहबाट सहयोग गर्न निगरानी संस्था गठन गरेर कार्यक्रमहरू गर्दै आएको जानकारी दिए ।

View : 185

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved