Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेश सरकारको उल्झन

गण्डकीमा सुल्झियो, कोशीमा कहिले ?

उद्घोष सम्वाददाता
१८ भदौ २०८१, मङ्गलवार

विराटनगर । अनेक बहाना गर्दै कोशी सरकारमा सहभागी हुन ढिला गरिरहेको नेपाली कांग्रेसले अब ‘गण्डकीको बहाना’ पनि गुमाएको छ । दुई सातायता कांग्रेस नेताहरुले गण्डकी र कोशी सरकारबारे प्याकेजमै सहमति हुने बताइरहेका थिए । सोमबार एमाले त्यहाँको सरकारमा सहभागी भएको छ । तर, कोशीमा कांग्रेसको सहभागिता कहिले हुन्छ, अझै अनिश्चित नै छ ।

कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले अझै पनि अनिश्चय नै प्रकट गरेका छन् । सभापति  थापाले सोमबार साँझ उद्घोषसँग भने ‘गण्डकीको टुंगो लाग्यो अब कोशीमा पनि एक दुई दिनभित्र टुंगो लाग्ला ।’ 

थापा मात्रै होइन, कोशी प्रदेशसभा सदस्य  एवम् केन्द्रीय सदस्य भीम पराजुलीले पनि नेता थापाकै भनाइ दोहोर्‍याए । ‘गण्डकीको विवाद समाधान भयो, अब कोशीको पालो आएको छ आजभोलि नै कांग्रेस सरकारमा सहभागी हुनेछ’, उनले भने । आफूले पनि मिति नै यकिन गर्न भने नसक्ने उल्लेख गर्दै पराजुलीले भने ‘अबको एक दुई दिनमै हामी सरकारमा सहभागी हुनेछौं ।’ 

कोशी प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम प्रदेशलाई छान्नै नदिने  र आफू पनि छान्न नसक्ने केन्द्रीय नेतृत्वको अकर्मण्य कार्यशैलीले कोशीमा कांग्रेस अनिर्णयको बन्दी बनेको लामो समय भइसकेको छ ।  मन्त्रीहरुको नाम टुंग्याउने एक महिनाभन्दा लामो प्रयास विफल भएपछि कांग्रेस गएको शुक्रबार कोशी प्रदेशसभाको बैठकमा मन्त्री बेगरै उपस्थित भएको थियो ।

यद्यपि मुख्यमन्क्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई समर्थन गर्दै कांग्रेस शुक्रबारदेखि सदनमा सत्ता पक्षको लहरमा बसेको छ । कोशी कांग्रेसमा मन्त्री बन्ने आकांक्षीहरुको लर्को छ ।

धेरै आकांक्षी हुँदा र गुटगत भागबन्डा टुंग्याउन सकस पर्दा कोशीमा कांग्रेस अनिर्णयको बन्दी बनेको हो । कांग्रेस नेताहरुले कोशीका सांसदहरुमध्ये उद्धव थापा र केदार कार्कीबाहेक अरु सबै मन्त्रीका दाबेदार रहेको र सबैले दबाब दिइरहेको बताइरहेका छन् । 

प्रदेशको समिति तथा संसदीय दललाई मन्त्री चयन गर्ने मामिलामा भूमिकाविहीन तुल्याएको कांग्रेस केन्द्रले पनि समयमै मन्त्रीको नाम नदिँदा कोशीमा पार्टी बद्नाम बनेको सांसदहरु बताउँछन् ।

कोशीमा कांग्रेसले तीन वटा गुटलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । संस्थापन समूहमै देउवा र कृष्णप्रसाद सिटौला समूह रहेको कोशीमा संस्थापनइतरमा शेखर कोइराला पक्ष छ ।

देउवा समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, मैंया श्रेष्ठ लगायतका सांसदहरु मन्त्री बन्ने दौडमा छन् भने सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई दौडमा छन् ।

शेखर पक्षबाट इन्दिरा थापा, गोविन्द गिरी, मानबहादुर लिम्बू, रामकुमार खत्री लगायतका सांसद मन्त्री बन्ने होडमा सहभागी छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि मानबहादुर लिम्बू र विनोद वान्तावालाई मन्त्री बनाउन सभापतिलाई दबाब दिइरहेका छन् ।

View : 88

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved