Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

गोली हान्नेलाई सात दिनभित्र पक्राउ नगरे संसदमै अनशन बस्ने प्रदेश सांसद विश्वकर्माको चेतावनी

उद्घोष सम्वाददाता
१५ भदौ २०८१, शनिवार

विराटनगर । कोशी प्रदेश सभाका सांसद गोपाल बहादुर विश्वकर्माले झापाको दमकमा परीक्षा दिएर फर्किएकी दलित छात्रामाथि गोली प्रहार गर्ने व्यक्तिलाई एक साताभित्र पक्राउ नगरे कोशी प्रदेश सभामै अनशन बस्ने चेतावनी दिएका छन् ।

कक्षा १२ को परीक्षा दिएर फर्किएकी उदयपुर घर भएकी १६ वर्षीया एनिका गजमेरमाथि २०८१ बैशाख २१ गते दमकमा गोली प्रहार भएको थियो ।

गोली प्रहारमा संलग्न रहेका पूर्व शिक्षक सिरहाका अमित कुमार यादव रहेको खुलेको थियो । तर उनलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै सांसद विश्वकर्माले शुक्रबार प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै संसदमै अनशन बस्ने चेतावनी दिएका हुन् ।

उनले गोली हानेको घटनामा सर्जमिन गर्नेहरु माथि अहिले म्यासेजबाट धाकधम्की आइरहेको बताएका छन् । 

‘सर्जमिन गर्नेलाई मेसेजमा धम्की आइरहेको छ, के दलित महिलाले रोएर बस्नुपर्ने हो ?’ उनले भने, ‘गृहमन्त्री र मुख्यमन्त्री बनेर हिँडेर मात्रै हुँदैन, तपाईँहरुले सात दिनभित्र कानुनको कठघरामा ल्याउन सक्नु भएन भने म यसै ठाउँमा अनशन बस्छु ।’ 

उनले घटनाको जानकारी डिआइजीलाई समेत गराएको तर अपराधमा संलग्नलाई पक्राउ नगरेको आरोप लगाए । 

गोली लागेकी छात्रा दमकको हिमालय मावि परीक्षा केन्द्रमा परीक्षा दिएर कोठातर्फ फर्कँदै गर्दा मोटरसाइकलमा रहेका यादवले बाटो ढुकेर दमक नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक भवनअगाडि गोली प्रहार गरेका थिए । उनको पेटबाट चिकित्सकले गोली निकालेका थिए ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ की गजमेरले सोही ठाउँमा शिक्षण गर्दै आएका यादवविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा २०७९ सालमा उजुरी दिएकी थिइन् । 

त्यसपछि गाउँलेको दबाबमा शिक्षण पेशा छाडेका यादवले रिसइबी साँध्न उनीमाथि गोली प्रहार गरेको प्रहरीले अनुमान गरेको थियो । गोली प्रहारपछि यादव फरार रहेका छन् ।

View : 143

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved