Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

निजामती कर्मचारीको जापानमा उच्चशिक्षा अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर

उद्घोष सम्वाददाता
१२ भदौ २०८१, बुधवार

काठमाडौँ, १२ भदौ । जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमानित नेरु ४२ करोड २३ लाख) छात्रवृत्ति सहयोग गर्ने भएको छ । 

अर्थ मन्त्रालयमा आज सोसम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सहयोगसम्बन्धी नोट आदानप्रदान गरे । सो अवसरमा अर्थमन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाका प्रमुख धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौतासँगै नेपालका युवा निजामती सेवाका कर्मचारीलाई जापानको विश्वविद्यालयमा दुईवर्षे स्नातकोत्तर र तीनवर्षे विद्यावारिधि अध्ययन गर्नका निम्ति छात्रवृत्ति सहयोग प्राप्त हुनेछ । ‘मेरिट’का आधारमा निजामती सेवाका कर्मचारीमध्येबाट इच्छुक कर्मचारी अध्ययनका लागि जापान जानेछन् । यस वर्ष २० जना स्नातकोत्तर र दुईजना विद्यावारिधि गरी २२ कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिने सो अवसरमा जानकारी दिइयो ।  

जापान सरकारको सहयोगमा त्यहाँका मानव संसाधन विकास छात्रवृत्ति कार्यक्रम  (जेडिएस) अनुसार सन् २०१६ देखि नेपालले यो अवसर पाइरहेको छ । हालसम्म एक सय ८७ निजामती सेवाका अधिकारीले छात्रवृत्ति प्राप्त गरिससेका छन् । 

सो अवसरमा अर्थ सचिव घिमिरेले छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाका कर्मचारीको क्षमता अभिवृद्धि हुने र यसबाट सिङ्गो मुलुक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

नेपालका लागि जापानी राजदूत किकुताले नेपालका निजामती सेवाका कर्मचारीलाई दक्ष बनाउन छात्रवृत्ति कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा अर्थ मन्त्रालय र जाइका नेपालका उच्च अधिकारी सहभागी थिए । रासस

View : 90

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved